‘वैदेशिक रोजगारीमा गएर उतै हराएका भनिएकाहरु सबै हराएका हुँदैनन्’

 चैत २४, २०७८ बिहीबार १४:४४:५४ | कुलप्रसाद कार्की
unn.prixa.net

वैदेशिक रोजगारीमा गएर उतै हराउनु, लामो समयसम्म सम्पर्कमा नआउनु वैदेशिक रोजगारीको दुःखद पक्ष हो । प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सन् २०१४ देखि वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका समस्याहरुमा केन्द्रित रहेर एउटा ‘रेस्क्यु युनिट’ बनाएर श्रमिक र उनका परिवारसँग काम गर्दै आएको छ । यो क्रममा अहिलेसम्म ६ सय ९ जना वैदेशिक रोजगारीमा सम्पर्कविहीन भएको रेकर्ड देखिन्छ । यी घटना र हाम्रो अनुभवलाई हेर्दा पाँच छ ओटा कारण छन् जसले गर्दा नेपाली श्रमिक वैदेशिक रोजगारीमा सम्पर्क विहीन हुने गरेको पाइएको छ ।

पहिलो, व्यक्तिगत कारण । व्यक्तिगत आचरण तथा चरित्रको कारणले गर्दा पनि उनीहरु परिवारसँग सम्पर्कमा नरहने हुन्छन् । दोस्रो, पारिवारिक विमेल । विदेशमा जाँदा घरपरिवारमा ऋण लागेको हुन्छ । साहु पैसा माग्न आउन थाल्छन् । विदेशबाट पैसा पठाउला भन्ने परिवारको अपेक्षा हुन्छ । बालबच्चालाई पढाउनुपर्यो वा आमाबुवाको उपचार गर्नुपर्यो । यी कुरालाई हेर्दा परिवारका मान्छेले विदेशमा कमाउनेभन्दा बढी अपेक्षा गरेर बारम्बार फोन गरिरहने हुँदा पनि श्रमिकहरु घरपरिवारसँग सम्पर्कमा नआउने गरेको देखियो । 

तेस्रोमा, गन्तव्य देशको पनि दुर्गम क्षेत्रमा काम गर्ने श्रमिकहरु सम्पर्कमा नआउन सक्छन् । सिधा, सोझा श्रमिकहरुलाई घना जंगलको बीचमा अथवा मरुभूमिमा उँट, भेडाहरु चराउन वा यस्तै प्रकारका अरु काममा लगाउँछन् । त्यहाँ सञ्चारको खासै माध्यम पनि हुँदैन, जनसम्पर्क पनि हुँदैन र भाषा पनि बुझेको हुँदैन । उनीहरुलाई बँधुवा मजदुर जस्तै गरि राखिएको हुन्छ । यस्ता श्रमिकहरु पनि लामो समयसम्म सम्पर्कमा नआएको देखिन्छ ।

यस्तै चौथोमा, घरेलु श्रमिक । घरेलु कामदारमा जाने महिलाहरुलाई परिवारसँग सम्पर्क गर्न नदिने , घरभित्र थुनेर राख्ने र वर्षौँसम्म काममा लगाउने गरेको देखिन्छ । यस्तै अर्कोखाले मान्छे यस्तो पनि छन् जो, आपराधिक गतिविधिमा संलग्न हुँदा, जेलमा परेका हुन्छन् । घरपरिवारको सम्पर्क नम्बर पनि साथमा नहुँदा सम्पर्कविहीन हुन्छन् ।
यस्तै कोही मानिसहरु दुर्घटनामा परेर घाइते भएका हुन्छन् । साथमा परिचयपत्र नहुँदा, कोमामा रहेका वा मानसिक अवस्था पनि ठिक नभएको अवस्थामा त्यस्ता मानिसहरु पनि सम्पर्क विहीन भएको देखिन्छ ।

हराएका भनिएकाहरु सबै हराएका हुँदैनन् 

विदेशमा रहेको आफ्नो मान्छेले लामो समयसम्म कुराकानी नगर्दा, हराए कि, कतै केही दुर्घटना पो भयो कि भनेर घरपरिवारमा चिन्ता हुनु स्वभाविक हो । यही चिन्ताका कारण उहाँहरुले खोजीदिन आग्रह गर्नुहुन्छ । कतिपय अवस्थामा त साँच्चिकै हराएका नै हुन्छन् वा सम्पर्कमै आउन नसक्ने अवस्थामा हुन्छन् । तर कतिपय अवस्थामा भने जानाजान परिवारसँग सम्पर्कमा आउन नचाहेको देखिन्छ । केही कारणहरु माथि उल्लेख गरेअनुसार नै हुन् । कतिपयले, जस्तो मलेसियातिर फिलिपिन अथवा इण्डोनेसियाको केटीसँग बिहे गर्ने वा लिभिङ टुगेदरमा बस्ने र परिवारसँग, श्रीमतीसँग सम्पर्क गर्न बन्द गरेको पनि पाइयो । विदेशमा अर्कै केटीसँग बस्दा घरमा आफ्नो श्रीमतीसँग मनमुटाव भएको र सम्पर्क गर्नै नखोजेको पाइयो । को श्रीमतीसँग बस्ने, श्रीमती रोज्ने, परिवार रोज्ने भन्ने कुरा व्यक्ति स्वंको मानवअधिकारको कुरा हो भनेर अमेरिका लगायत मलेसिया जस्ता देशहरुमा यो कुराले असर गर्छ । दूतावासले हस्तक्षेप गरेर पक्रेर पठाउन सक्ने अवस्था रहँदैन । त्यस्ता खालको मान्छेहरुलाई त्यहाँको सरकारले पनि केही गर्न सक्दैन । कानुनी हैसियतमै छन्, नयाँ परिवार लिएर बसेका छन् भने त्यो देशको कानुनले पनि र हाम्रो देशको कानुनले पनि नेपाल फर्काउन सक्दैन । उनीहरुसँग दूतावासका मान्छेले नै सम्पर्क गर्न खोज्दा पनि ‘यो मेरो मामिला हो’ भनेर घर फर्किन अस्वीकार गरेको देखियो । 

तर केही केही श्रमिकहरु जो, बँधुवा मजदुर भएका छन् र कसैको सामान्य रुपमा परिवारसँग मतभेद छ भने उनीहरुलाई सम्झाइबुझाइ गरेर नेपाल फर्काउने अवस्था छ । यस्तै कोरोना महामारीपछि परिवारसँग सम्पर्कमा नआउने अर्को अवस्था देखिएको छ । अवैधानिक स्टाटसमा भएकाहरुलाई धमाधाम एरेस्ट गरेर डिपोर्ट गरिरहेको अवस्था छ । एरेस्ट गरेर राखेपछि पनि केही समय उनीहरु सम्पर्कमा आउन सक्दैनन् । दूतावासको जिम्मा लगाएपछि वा डिपोर्ट गरेर नेपाल फर्काएपछि फेरि सम्पर्कमा आइहाल्छन् ।

को–कसरी हराए भन्ने थाहा पाउन मेकानिजम छैन 

यो–यो कारणले विदेशमा यति–यति हराए भनेर छुट्याउन हामीसँग कुनै मेकानिजम नै भएन ।  यतिबेला दूतावासले मात्रै पनि केही गर्न सकेन भन्नु उचित हुँदैन । पत्ता लगाएर, सोधखोज गरेर व्यक्तिगत प्रयासबाट खोजी गरेमा मात्र भेटाउन सकिने अवस्था छ । यस्ता समस्या निराकरण गर्न, घटनास्थलमा पुगेर सत्य तथ्य पत्ता लगाउनको लागि दूतावाससँग पनि पर्याप्त कर्मचारी छैनन् । लाखौँ मान्छेलाई दुईचार जना कर्मचारीको टिमले हेर्न सक्दैन । मलेसिया, यूएई, कतार, साउदी लगायत नेपाली श्रमिक धेरै भएका देशमा रहेका नेपाली दूतावासमा पर्याप्त कर्मचारी पठाउन सकेमा र त्यसलाई प्रविधिमैत्री बनाएमा यस्ता धेरै समस्या समाधान भएर जान सक्छन् ।

वैदेशिक रोजगारीलाई पूर्णतया प्रविधिसँग जोड्न सकियो भने को मान्छे कसरी कहाँ छ भन्ने कुरा थाहा पाउन सकिन्थ्यो । कसैको पासपोर्ट हरायो, नागरिकता हरायो, वर्क पर्मिट छैन, व्यक्ति आफै मानसिक अवस्था गुमाएको जस्ता समस्या छन् भने त्यो मान्छे कहाँको हो भनेर भाषाबाट थाहा पाउने, ठेगाना बताएमा त्यसरी पत्ता लगाउने काम भएको छ । तर त्यो भन्दा बाहेक अरु विकिल्प हामीसँग छैन । त्यो भन्दा बाहेक अरु काम भएको छैन जस्तो लाग्छ । 

हामीले पनि परिवारले माग गरेको अवस्थामा सूचना निकालेर, हराएका व्यक्तिहरुको फोटो विभिन्न सञ्चार माध्ययमा छाप्ने गरेका छौँ. । चिनेका मान्छेले पहिचान गरेको अवस्थामा फेला पर्ने गरेको पनि छ । वैदेशिक रोजगारीमा तुलनात्मक रुपमा पुरुषभन्दा महिला धेरै नै कम जानुभएको छ । हाम्रोमा अहिलेसम्म आएको केसमध्ये जम्मा ४८ जना महिलाको केस छ । तीमध्ये ३० जनालाई भेटाएर हामीले परिवारको जिम्मा लगाएका छौँ । महिलाको त्यति ठूलो डर छैन । तर पुरुषहरुको संख्या धेरै नै छ । लगभग पाँच सय भन्दा बढी संख्या पुरुषहरुको रहेको छ । त्यसमा पनि सबैभन्दा धेरै करिब दुई सय ४७ जति मलेसियामै हराएका छन् । जसमा ९१ जनालाई पीएनसीसीले उद्धार गरेको छ । कतारमा ३४ जना हराएका केस थिए २४ जना भेटिए । दुबईमा पनि ५८ वटा हराएका केस आएकोमा २९ ओटालाई भेटायौँ । यस्तै ओमानमा ३ जना हराएकोमा एक जना भेटिए । यसरी पीएनसीसीले विदेशमा हराएकाहरुकाे खाेजी गरिरहेकाे छ ।

(प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीसँग रेडियो कार्यक्रम देशपरदेशको लागि गरिएको कुराकानीमा आधारित ।)
 

कुलप्रसाद कार्की

कार्की प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया