पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
वैदेशिक राेजगारीमा गएकाे आफ्नाे मान्छेले फाेन नगर्दा, लामाे समयदेखि सम्पर्कमा नआउँदा घरपरिवारका सदस्य आत्तिन्छन् । याे स्वभाविक पनि हाे । आफ्नाे मान्छेलाई केही भयाे कि भन्ने पीर लाग्छ । मनमा अनेक कुरा खेल्छन् । श्रम गन्तव्य देशहरुमा रहेका नेपाली दूतावासमा यस्ता गुनासा आइरहन्छन् । पीडित परिवारले दूतावासमा सम्पर्क गर्छन् । मलेसियामा रहेको नेपाली दूतावासमा पनि हराए भन्दै खाेजीकाे लागि निवेदन आउँछन् । आखिर परदेशमा किन हराउँछन् त नेपाली श्रमिक ?
यसरी हराउने भन्ने कुरा विशेषगरि दुई किसिमको हुन्छ । एक, जो साँच्चिकै हराउँछन् । नियमित रुपमा परिवारसँग सम्पर्क भइरहेको अवस्थामा एकाएक हराउँछन् । कुनै ठाउँमा रोजगारी गर्ने क्रममा बिना कुनै कारण, कुनै जानकारी नै नदिएर जुन ठाउँमा हुनुपथ्र्यो त्यहाँ पनि भेटिँदैनन् । यस्तो घटनामा हामीहरु मानिस हराएको रिपोर्ट गर्छौँ । उहाँहरुलाई अप्ठेरो पो पर्यो कि भन्ने हिसाबले जेलमा वा अस्पतालमा उहाँहरुका नाम पनि खोज्छौँ । त्योबाहेक सडक दुर्घटना अथवा अन्य कुनै कारणले दुर्भाग्यवस मृत्यु पनि भएको हुनसक्छ । यी साँच्चिकै हराएका हुनसक्ने अवस्था हुन् ।
तर हामीले दूतावासमा आएका निवेदन हेर्दा र खोजी गर्दा साँच्चिकै हराउने भन्दा पनि जानाजान परिवारसँग सम्पर्क नगरेका केसहरु बढी पाउँछौँ । यस्तो अवस्थामा दूतावासले हराएका भनिएका श्रमिकको अन्तिम थाहा भएको रोजगारदाता, साथीभाइहरुसँग सम्पर्क भइरहने फोन नम्बर खोज्छ । त्यसमार्फत सम्पर्क गरेर, श्रमिकको अवस्था पत्ता लगाएर हामीहरुले परामर्श काउन्सिलिङ गर्छौँ । नेपालमा भएका परिवारसँग सम्पर्क गर्नुहोस्, घरपरिवारलाई पनि समय दिनुहोस् भनेर सम्झाउँछौँ । तर यसमा सम्बन्धित व्यक्तिले घरमा फोन गर्नै नचाहँदा दूतावासले पनि जबरजस्ती गर्न सक्दैन । हामीले सम्झाउने मात्र हो । हामीसँग कुनै ‘फोर्स मेकानिजम’ भने छैन ।
यसरी हराउनेमा धेरैजसो केस जानाजान सम्पर्क नगरेका हुन्छन् । कोही भनेजस्तो काम, कमाइ नभएर घरको ऋण तिर्न नसकेर यसरी सम्पर्कमा आउन नचाहने हुन्छन् । कोही अवैधानिक भएर लुकेर बसेको अवस्था हुनसक्छ । कोही कुलतमा फसेका हुन्छन् भने कोही गन्तव्य देशमै अर्को परिवार बनाएर बसेका पनि हुन्छन् । यस्तै कोही घरपरिवारको कचकच, अनेक प्रकारका मागका कारण सम्पर्कमा आउन चाहँदैनन् । परदेशमा आफ्नो अवस्था कस्तो हुन्छ, त्यो भोग्नेलाई थाहा हुन्छ । तर घरपरिवारबाट यस्ता अनेक प्रकारका मागहरु आउँदा फोन स्विच अफ गरेर राख्छन् वा सिम परिवर्तन गर्छन् ।
यस्तै कहिलेकाहीँ लामो समयसम्म घर जान नपाउँदा व्यक्तिको मनस्थिति परिवर्तन हुने । नयाँ साथी सम्बन्ध बन्दा घरपरिवारलाई बिर्सिने पनि हुनसक्छ भनेर हामीले रोजगारदाताहरुलाई पनि श्रमिकलाई बेलाबेला घर पठाउनुपर्छ भनेर परामर्श दिन्छौँ, दबाब पनि दिन्छौँ । यो मान्छे लामो समयदेखि मलेसियामै छ यसलाई एकपटक घर पठाएर परिवारलाई भेट्ने मौका दिनुहोला भनेर हामीले सम्झाउन सक्छौँ ।
तर जो व्यक्ति आफै अवैधानिक भएर बसेको छ । वैधानिक रोजगारदाता नै छैन भने त्यस्तो अवस्थामा हराएको भनिएको व्यक्ति वा रोजगारदातालाई पनि सम्झाउन गाह्रो हुन्छ । ‘तँलाई के मत्लब म जे गरौँ’ भन्ने जवाफ आउँछ । यस्तो अवस्थामा हामीले पनि केही गर्न सक्दैनौँ ।
कहिलेकाहीँ फेरि त्यही व्यक्ति आमाको नजरमा हराएको तर श्रीमतीसँग सम्पर्कमा आइरहेको पनि हुनसक्छ । वा श्रीमतीको नजरमा हराएको आमासँग सम्पर्कमा आइरहने पनि हुनसक्छ । त्यो उनीहरुको परिवारको सम्बन्धको कुरा हो । यस्तो अवस्थामा पनि हामीले परामर्श गर्नेबाहेक अरु केही पनि गर्न सक्दैनौँ ।
माथि भनेअनुसार विभिन्न कारणले परदेशमा आफ्नो मान्छे हराउँदा त्यो व्यक्तिको बारेमा आफूसँग भएको जानकारी दूतावासलाई दिनुभयो भने दूतावासले खोजी कार्य गर्छ । वा नेपालमै पनि कन्सुलर विभाग, वैदेशिक रोजगार बोर्ड, विभागमा पनि निवेदन दिन सकिन्छ । त्यहाँबाट पनि हामीकहाँ नै पुग्ने हो । यदि जानाजान सम्पर्कबाट हराएको हो भने हामी खोजी गरेर सम्झाउँछौँ । काउन्सिलिङ गर्छौँ । यता भेटियो भने परिवारलाई जानकारी गराउँछौँ । त्यसपछि परिवार र हराइरहेको भनिएको व्यक्तिकै जिम्मेवारी हो ।
पीडित परिवारले राज्यसँग आशा गर्नु स्वभाविक नै हुन्छ । तर राज्यसँगको आशा भनेको धेरै कुरा कानुनी रुपमा हुन्छ । जानाजान हराउनेहरुको सन्दर्भमा भन्नुपर्दा पारिवारिक सम्बन्ध बिग्रिँदा हराउने भन्ने कुरा भावनात्मक कुरा हो । यसको न कुनै निर्देशिका हुन्छ न कानुन् । यो त व्यावहारिक रुपमा बुझ्ने कुरा हो । सम्बन्धित व्यक्तिलाई फोन गरेर ल है आफ्नो श्रीमतीलाई फोन गर्नुहोस्, घरपरिवारमा फोन गर्नुहोस् भन्ने कुरा हो । केसपिच्छे यसको प्रभाव फरक पर्छ । कसैले हामीले सम्झाउने बित्तिकै घरमा फोन गर्नुहुन्छ । कसैले उल्टै हामीलाई तँ को होस् भनेर थर्काउनुहुन्छ । त्यसैले दूतावासले गन्तव्य देशमा रहेको व्यक्ति र उनको परिवारबीच सम्बन्ध सुधार्न पुलको काम गरिदिन्छौँ । तर त्यो बुझ्ने नबुझ्ने कुरा व्यक्तिको वा परिवारको हातमा हुन्छ ।
त्योबाहेक जो साच्चिकै हराएका छन्, त्यस्तो अवस्थामा मलेसियन प्रहरी लगायत अन्य निकायहरुसँग सहयोग मागी खोज्ने कार्य गर्छौँ । कहिलेकाहीँ अचेत अवस्थामा अस्पतालमा रहेको, मानसिक सन्तुलन गुमाएको पनि हुन सक्छन् । तर यो एकदमै दुर्लभ कुरा हो । नत्र भने त्यो व्यक्तिसँग नेपालकै हो भनेर बुझ्ने आधार हुन्छन् । शारीरिक बनावट, भाषा, हाउभाउ पनि हुनसक्छ । पुराना कागजात पनि हुन सक्छन् । कहीँ कतै यस्तो भइहालेमा पनि अचेल त सामाजिक सञ्जालमा फोटोहरु घटनाहरु आइराख्छन् , त्यसबाट पनि बुझ्न सकिन्छ । सम्बन्धित अस्पतालले पनि खोजी गर्छ । तर मलेसियाको हकमा यस्ता घटना सायदै छन् ।
एकपटक यस्तै एक केस आएको थियो । उदयपुरको एकजना यहाँको इमिग्रेशनको क्याम्पमा हुनुहुन्थ्यो । उहाँले नेपाली भाषा पनि बोल्नुहुन्नथ्यो । उहाँसँगै क्याम्पमा बसेका साथीहरुले पनि उहाँ इण्डोनेसियन हो भन्नुहुन्थ्यो । पछि त्यो कुरा हामीले नेपालको मिडियाहरुमा प्रकाशन गर्यौँ । त्यसपछि उहाँको दाइ सम्पर्कमा आउनुभयो । यहाँबाट गएर नेपालमा ओर्लिने बित्तिकै उहाँले फरर नेपाली बोल्नुभएको थियो ।
वैदेशिक रोजगारीमा मात्र नभएर घरमै छँदा पनि कहिलेकाहीँ आमाबुवासँगको सम्बन्ध बिग्रिन सक्छ । श्रीमान्, श्रीमतीबीचको सम्बन्ध बिग्रिन सक्छ । यस्तो अवस्थामा परिवार स्वयंले सचेत हुनुपर्छ । किन सम्बन्ध बिग्रियो भन्नेतर्फ सचेत हुनुपर्छ ।
पहिले चिठीको जमानामा घरको खबर समय समयमा आउँथ्यो, ठिकै छ भन्ने हुन्थ्यो । अहिले इन्टरनेटको माध्यमले घरको सानो सानो तनाव विवाद पनि परवाशमा आइरहेको हुन्छ । त्यसले गर्दा परदेशमा आएका श्रमिकलाई पनि मानसिक तनाव बढ्छ । त्यसै पनि अर्काको देशमा काम गर्न आएको हुन्छन् । त्यसैमाथि अनेक दबाब, चिन्ताजन्य कुरा, घरपरिवारका विवाद हुँदा त्यसले तनाव उत्पन्न गर्छ । अनि बरु घरमा फोन गर्दैन भन्ने निर्णमा पुग्छन् । त्यसैले घरपरिवारका सदस्यले पनि यी कुरामा ध्यान दिनुपर्छ । आखिर परदेशमा दुःख गरेको घर परिवारकै लागि हो । त्यसले नेपालमा रहेका परिवारका सदस्यले पनि करार अवधि सकेर आइहाल्छ भन्ने बुझेर मानसिक दबाब नपर्ने खालको वातावरण बनाइदिनुपर्छ ।
(उज्यालाेकाे रेडियाे कार्यक्रम देशपरदेशकाे लागि मलेसियामा रहेकाे नेपाली दूतावासका द्वीतीय सचिव तथा सूचना अधिकारी प्रतिक कार्कीसँग गरिएकाे कुराकानीमा आधारित ।)