श्रीमान् परदेशमा हुँदा आफ्नैले एक्लाे बनाए, मनाेपरामर्शले जिउने आँट मिल्याे

 पुष ४, २०७९ सोमबार १८:१६:२६
unn.prixa.net

प्रतिकात्मक तस्बिर

शशि यादव

सिरहाकी बुधनी देवी (नाम परिवर्तन) लाई कुनै बेला मर्ने मन लागेको थियो । जीवनमा एक कदम पनि अगाडि बढ्न सक्दैन भनेर उहाँले झण्डै मृत्युलाई रोजिसक्नुभएको थियो । कारण थियो, आफूमाथि लागेका अनेक लाञ्छना । त्यो पनि आफ्नै घरपरिवारले, आफ्नै श्रीमानले लगाएका । 

तर अहिले बुधनीको त्यो सोच परिवर्तन भएको छ । आफ्नो जीवनको माया लाग्न थालेको छ । पुराना दिनहरुलाई उहाँ एउटा नराम्रो सपना ठानेर बिर्सिन खोज्नुहुन्छ ।

‘आफन्तसँग सम्बन्ध त बलियो थियो जस्तो लागेको थियो तर व्यवहार भोग्दा फर्केर उनीहरुको  अनुहार हेर्न मन लाग्दैन’, आफन्तहरुको लाञ्छनाले उहाँलाई कति पिरोल्यो होला, उहाँको यही आक्रोशमा झल्किन्छ ।

बुधनी देवीलाई श्रीमानको माया, छोराछोरीको चाहना पुगेकै थियो । वैदेशिक रोजगारीमा जानुभएका श्रीमानको कमाइ राम्रै थियो । घरपरिवार सबै ठिकै थियो । तर श्रीमान विदेशमा थिए । घरपरिवारमा साथ दिने अरु थिएनन् । केही काम गर्नुपर्दा छेमेकी पुरुषसँग सहायता मागेकै निहुँमा आफ्नै सासूससुरा र नन्दको लाञ्छना सुन्नुपर्दा उहाँलाई सहिनसक्नु पिडा हुन्थ्यो । नन्दले परदेशमा रहेका दाइलाई (बुधनीका श्रीमान)लाई फोन गरेर झुटा कुरा लगाउने गर्थिन् । सासूससुराले पनि नन्द र गाउँलेका कुरामा विश्वास गर्थे । बजारमा कसैसँग देखेको, कसैसँग बोलेको सबै कुरा साँझसम्म घरमा झगडाको विषय बनिसक्थ्यो । त्यही कुरा परदेशमा रहेका श्रीमानको कानमा पथ्र्यो । यही कारणले बुधनीका श्रीमानले पनि लाञ्छना र आरोप लगाउँथे । यी सबै कुराले बुधनीलाई अहिले नै मरिदिउँ जस्तो लाग्थ्यो ।

‘मेरो घर अगाडि रहेको छिमेकीको घरको छतमा गइ नाङ्गो बिजुलीको तारमा समातेर जीवन समाप्त पार्ने योजना बनाएको थिएँ’, बुधनी भक्कानिँदै ती दिन याद गर्नुहुन्छ । 

उमेरले ३८ वर्ष हुनुभएकी बुधनीको २० वर्ष पहिले मागी बिहे भएको थियो । तीन जना छोराछोरीकी आमाले १० कक्षासम्म अध्ययन पनि गर्नुभएको छ । बिहे गरेको दुई वर्षपछि बुधनीका श्रीमान् रामकुमार (नाम परिवर्तन) वैदेशिक रोजगारीको लागि कतार जानुभयो । त्यतिबेला बुधनी ३ महिनाकी गर्भवती हुनुहुन्थ्यो । अहिले उनै जेठी छोरीको बिहे भइसक्यो । कान्छी छोरीको पनि एक वर्ष पहिले बिहे भयो । कान्छाे छोरा १२ कक्षामा पढ्छन् ।

वैदेशिक रोजगारीमा गएपछि रामकुमारले लगातार सत्र वर्षसम्म कतारमै काम गर्नुभयो । त्यो बेला उहाँ तीन वर्षमा एक पटकजसो घर आउनुहुन्थ्यो । दुई महिना बसेर फेरि फर्किनुहुन्थ्यो । रामकुमारको नेपाल बसाइ पाहुनाको जस्तो थियो । त्यो बेला बुधनीले घरायसी जिम्मेवारी, खेतीपातीको कामकाज, नाता–गोता, छोराछोरीको पढाइलेखाइको सम्पूर्ण जिम्मेवारी एक्लै निर्वाह गर्नुभयो । 

उहाँले काम गर्न नभ्याएको बेलामा आफन्त र छरछिमेकलेसमेत सहयोग गरिदिन्थे । त्यसबेला श्रीमान् नभए पनि मलाई सहयोग गर्ने मान्छे छन् भनेर मन खुसी हुन्थ्यो बुधनी देवीको । रामकुमार कतारबाट फर्केपछि दुई वर्ष नेपालमा बस्नुभयो ।

कतारमा कमाएको पैसाले घर बनाए र घडेरी पनि किने । दुई छोरीको विहे गरिदिए । कतारको कमाई घरायसी व्यवहारमै सकियो । त्यसपछि राम केवल फेरि २०७७ सालमा मलेसिया जानुभयो ।

छोरा पढ्न काठमाण्डौ आए । छोरीहरुको बिहे भयो । अब बुधनीलाई सहयोग गर्नको लागि छोराछोरी पनि साथमा भएनन् । बुधनी केही गाह्रो काम भए सहयोगको लागि रामकुमारको साथीलाई भन्नुहुन्थ्यो । तर बुधनी देवीले गाह्रो र अप्ठयारो पर्दा आफ्नै श्रीमानको साथीबाट सहयोग लिँदा पनि घरको सदस्य जेठाजु र नन्दले  त्यही पुरुषसँग लागेकी छ भन्न थाले । रामकुमारलाई मलेसियामा नन्दले फोन गरेर गलत कुरा भन्न थालिन् । रामकुमारले पनि बहिनीको कुरा सुनेर मलेसियाबाटै भिडियो कल गरेर बुधनीसँग झगडा गर्न थाल्नुभयो । आफ्नो श्रीमानको एकाएक बदलिएको त्यस्तो व्यवहार देखेर बुधनी देवीलाई रिस उठ्न थाल्यो । 

यही कारणले परिवारमा झगडा बढ्न थाल्यो । जेठाजुले पनि गालीगलौज र कुटपिट गर्न थाले । रामकुमार पनि तैँले मलाई धोका दिइस् म अब नेपाल आउँदिन यहीँ आत्महत्या गर्दछु भन्न थाले ।

उहाँ भन्नुहुन्छ, ‘न श्रीमान्ले कुरा बुझ्ने । न त आफन्तले सहयोग गर्ने यो सब कारणले गर्दा अब म मर्छु भन्ने लागे तारमा झुण्डिने योजना बनाएँ ।’

मनोपरामर्शले बाँचेकी बुधनी

बुधनीले सबैलाई बिर्सिसक्नुभएको थियो । आफू मर्ने भएपछि छोराछोरी परिवारको माया पनि नलाग्दो रहेछ । अरुसँग बोल्न पनि बन्द गरिसक्नुभएको थियो । अनेक कुरा सोचेर आँखाबाट आँशु झार्ने र एक्ले बोल्ने गर्न थाल्नुभएको थियो । घरमा रहेको किराना पसल बन्द गर्नुभएको थियो । लैनो भैंसीलाई पनि बेचिदिनुभएको थियो । 

न त खाना खान मन लाग्थ्यो  न त निन्द्रा नै । दिमागमा नन्द र छरछिमेकीले भनेको शब्द घुमिरहन्थे । आफूले र्गदै नगरेको कुराको  लाञ्छना लगाउँदा घर बाहिर निस्कन पनि बुधनीलाई लाज लाग्न थालेको थियो । उहाँ बिरामी हुन थाल्नुभएको थियो । सलाइन चढाउनुपर्ने अवस्था आएको थियो । सबैतिरबाट आजित उहाँ बस् मर्ने मौकाको पर्खाइमा हुनुहुन्थ्यो । तर त्यहीबेला बुधनीको भेट मनोपरामर्शकर्तासँग भयो । 

मनोपरामर्शकर्ताले निरन्तर परामर्श दिँदै जानुभयो । सुरुमा कुरा सुन्नै नमान्ने बुधनी बिस्तारै भनेको कुरा चासो दिएर सुन्न थाल्नुभयो । मनोपरामर्शकर्तासँग सहज हुन थाल्नुभयो । मनको वह पोख्न थाल्नुभयो ।

मनोपरामर्शकर्ताले ने बुधनीलाई जीवनको अर्थ बुझाउँदै उहाँसँग भएको सिप र सबल पक्षले कसरी अघि बढ्ने भनेर प्रेरित गर्दै गएपछि बुधनीमा सकारात्मक परिवर्तन आउन थाले । त्यस्तै वित्तीय साक्षरता कक्षामा पनि बस्न थाल्नुभयो । 

त्यहीबेला बुधनीका श्रीमान पनि मलेसियाबाट काम छाडेर घर फर्किनुभएको थियो । उहाँलाई पनि मनोपरामर्शकर्ताले सम्झाउनुभयो । बिस्तारै श्रीमान् श्रीमतीबीच मेल हुन थाल्यो । बुधनी घरका कामकाजमा सक्रिय हुन थाल्नुभयो । बन्द गरेको पसल सञ्चालन गर्न थाल्नुभयो । उहाँ आफूले नसोचेकै परिवर्तन भएको महसुस गर्नुभयो ।

‘मलाई त अब बाँच्न सक्छु जस्तो लागेकै थिएन, मनोपरामर्शकर्ताले गर्दा जीउने साहस आयो’, यति भनिरहँदा उहाँका खुसीका आँसु झर्छन् ।

अहिले फेरिएको जीवन

नियमित मनोपरामर्श र वित्तीय साक्षरता कक्षाले बुधनीको जीवन बदलिएको छ । श्रीमानले पनि सबै कुरा बुझिसक्नुभएको छ । अहिले बुधनी देवीले कुटानीपिसानीको मिल चलाइरहनुभएको छ । एउटा भैंसी पनि पाल्नुभएको छ । रामकुमार र बुधनीबीचको पुरानो मायाप्रेम फेरि लयमा फर्केको छ । दुवैले मिलमा काम गर्नुहुन्छ । मिलबाट राम्रै कमाइ भइरहेको छ ।

रामकुमारले अब विदेश नजाने निर्णय गर्नुभएको छ । रामकुमार ट्रयाक्टर किन्ने सोचमा हुनुहुन्छ । 

सामाजिक लाञ्छनाले गर्दा बीचमा भाँडिएको परिवार अहिले पुनर्मिलन भएको छ । श्रीमान श्रीमतीबीच माया झाँगिएको छ । मर्ने सोच त्यागेर पुनर्जीवन पाउनुभएकी बुधनी मुस्कुराउँदै भन्नुहुन्छ, ‘मैले त समस्यालाई जिन्दगी भन्दा ठूलो बनाएको रहेछु, अहिले मेरो शरिर दुब्लाे भए पनि मेरो मन मोटाएको छ । मन मोटाएपछि हिम्मत आफै आउँदो रहेछ ।’

(शशि यादव सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सिरहाकाे अर्नामा गाउँपालिकामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय परियोजना हो ।)

 


तपाईको प्रतिक्रिया