पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
हेलम्बु – २२ वर्षसम्म एकनासले चलेको २३ वर्षीय सोनाम तामाङको दैनिकी २०७८ सालको जेठदेखि १ सय ८० डिग्रीले फेरियो, जब श्रीमती ग्याल्मो परिवार, छोरी, खेतीपाती र बाख्रापाठा सबै थोक सोनामलाई जिम्मा लगाएर रोजगारीका लागि कुवेत जानुभयो ।
बालख छोरी, बुढा र रोगी बाबु, वडाको काममा व्यस्त दाजु, एक दर्जन बाख्रा र खेतीपाती सबै काम गर्न अघि सरेर घरकी एक मात्र महिला श्रीमती ग्याल्मोलाई काम गर्न विदेश पठाएपछि ग्याल्मोले गर्ने घरका सबै काम सोनामको भागमा परेका छन् ।
घरमा अहिले सोनाम, उहाँका बुवा र दाइ हुनुहुन्छ । बुवा वृद्ध र बिरामी । दाइ गाउँपालिकाको वडा सदस्य, सधैँ व्यस्त । घरको सरसफाइदेखि बिहान बेलुकाको खाजा, खाना र भाँडाकुँडा माझ्नेसम्मको काम सोनामकै काँधमा छ । राती छोरीलाई आफैँसँग सुताउनुहुन्छ ।
बिहान छोरीलाई ओछ्यानमै छाडी घरको सारा काम भ्याउनुहुन्छ । खोरमा १२ वटा बाख्रा छन् । बाख्रालाई दाना पानीदेखि छोरीका लागि खाजा र खानाको बन्दोबस्त आफैँ गर्नुहुन्छ । बिहानको खानपिन सकी छोरीलाई स्कुल पुर्याएपछि सोनाम बाख्रा चराउन जङ्गल जानुहुन्छ ।
छोरी स्कुलबाट फर्किने बेला जङ्गलबाट दाउरा घाँससहित घर फर्कनुहुन्छ ।
त्यसो त यो दैनिकी सोनाम आफैले रोजेको हो । तर, यो दैनिकी यति कठिन होला भन्ने सोनामलाई लागेको थिएन ।
भोलिको सुन्दर भविष्यको सपना साँचेर श्रीमतीलाई परदेश पठाउने निर्णय गर्न त सोनामलाई सकस भएन, तर गाह्रो तब भयो जब छोरी पलपल आमा खोज्दै रुन थालिन् । ‘घरी घरी आमा सम्झेर रुने, आमालाई नै खोज्ने, के भनेर कसरी सम्झाउने गाह्रो भयो सुरुसुरुमा’ सुकेको दुबो भुईँबाट चटक चटक चुँड्दै सोनाम भन्नुहुन्छ ‘बिस्तारै बानी त पर्याे तर बानी पार्नै गाह्रो भयो ।’
घरमा अरू कोही पनि महिला नभएकाले सोनामलाई श्रीमती परदेश हिँड्नासाथ छोरीका लागि आमा बन्न गाह्रो भयो । तर भन्छन् नि परेपछि गरिन्छ । सोनामले छोरीका लागि, आफ्नो लागि अनि हाम्रो लागि भनेर घर सम्हाल्न आफूले सकेको र जानेको गरिरहनु भएको छ ।
‘बाख्रालाई दिनभरि छाडा छाडेर चराउन मिल्ने जङ्गल छ, बाख्रा छाडेर दाउरा घाँस लिएर घर आयो, बाख्रा बेलुका पाँच बजेतिर आफैँ आउँछ’ सोनाम आफ्नो दौडधुप सुनाउनुहुन्छ ‘तर कहिलेकाहीँ बारीको काम पनि हुन्छ, बारीको पनि काम भएको बेलामा भने गाह्रो हुन्छ ।’
बेलुका खानापीनको बन्दोबस्त गर्नै व्यस्त हुनुपर्छ । छोरीलाई समयमा खुवाएर सुताउन पर्छ । घर व्यवहारले थिचेपछि साथीभाइसँगको भेटघाट र घुमघाम पनि घटेको छ । पहिलेजस्तो साथीभाइसँग बजार झर्ने, कहिलेकाहीँ गाउँ तिरै टहलिने बानी चटक्कै छुटेको छ ।
घरका धेरै काममा बानी परे पनि कतिपय काम गर्न चाहिँ निकै अप्ठेरो लाग्छ सोनामलाई ।
‘छोरीलाई नुहाउन, खाना र खाजा खुवाउन, सरसफाइ गरिदिन सबै काम गर्न गाह्रो छ, किनकि पहिला त यस्तो कामहरु गर्नु पर्दैन थियो, उसको आमा हुँदा आमाले नै गरिरहेको काम ठ्याक्कै आफूले गर्नु त केही पनि सजिलो नहुने रहेछ’ सोनाम घर सम्हाल्दाको सजिलो अप्ठेरो अनुभव साट्नुहुन्छ ।
हेलम्बु गाउँपालिका ५ को क्यासिन्चे गाउँमा पर्ने भिरालोमा पातलो बस्तीमा पुग्न मेलम्ची खोला छेवैको ग्याल्थुम बजारबाट देब्रेतिर उकालो लाग्नुपर्छ । आधी बाटोसम्म गाडी जान्छ । गाडीबाट ओर्लेर झण्डै आधा घण्टा पैदल हिँडेपछि पुगिन्छ क्यासिङचे गाउँ ।
हिँड्दै गाउँ पुग्दा सबैभन्दा पहिला सोनाम तामाङको घर पुगिन्छ । एक तले चिटिक्कको घर छ । घरको दाहिनेपट्टि जस्ताले बारेको सानो कोठा छ । यो कोठामा छ सोनामको भान्सा । भान्सामा दिउँसोको चिया पकाइरहनुभएको छ सोनाम ।
एक वर्ष अघिसम्म श्रीमती ग्याल्मो थिङले चुलो चौको गर्नुहुन्थ्यो । सोनामलाई घरको काम अनिवार्य थिएन । मन लाग्दा कहिलेकाहीँ श्रीमतीलाई सघाउनुहुन्थ्यो । तर रोजगारीका लागि श्रीमती परदेश गएपछि भने सोनामको दैनिक र जिम्मेवारी दुवै फेरियो ।
बिहानै उठ्न पर्यो । खाजा र खाना बनाउनु पर्यो । घरको सरसफाइ गर्ने अरू कोही छैन, त्यो गर्नै पर्यो । बुवासँगै साढे तीन वर्षकी छोरीका लागि आमा पनि बन्नु पर्यो । काखे बच्चा आमा सम्झेर घरीघरी रुन्छिन्, छोरीलाई फकाउनु र मन बुझाउनु पर्यो । यी सबै काम गर्न परेपछि सोनामलाई लाग्छ, बा बन्न भन्दा गाह्रो त आमा हुन पो रहेछ ।
गएको वर्ष कुवेतमा जिम खानामा महिलाका लागि सरसफाइको काममा राम्रो अवसर भएको कुरा उहाँहरूको कानमा पर्यो । सबै कुरा बुझ्दा सोनामलाई कुवेतबाट आएको अवसर राम्रो लाग्यो । त्यसपछि ग्याल्मो कुवेत जाने र सोनामले छोरी हुर्काउँदै घर व्यवहार धान्ने सल्लाह भयो दुईजनाबीचमा । त्यसपछि सोनामको दैनिकी पुरै फेरिएको छ ।
हेलम्बु गाउँपालिका ५ कै पातिङका सुरज तामाङको दैनिकी पनि सोनामको जस्तै छ । ओछ्यानमा सँगै सुतेकी छोरीका आँखा नखुल्दै उठ्नुहुन्छ । घरको सरसफाइ गरेर भैँसी दुहुनुहुन्छ । दूध तात्दै गर्दा छोरी बिउँझिन्छिन् । छोरीलाई दूध खुवाएपछि बल्ल सुरज बिहानको खाना बनाउनतिर लाग्नुहुन्छ । खाना खुवाएर छोरी स्कुल पठाएपछि बाख्रा भैँसी र बारीको काम गर्नतिर लाग्नुहुन्छ ।
श्रीमती माया तामाङ रोजगारीका लागि कुवेत उडेयता छ महिना भयो सुरजको दैनिकी यसै गरी बितिरहेको छ । ‘जो गए पनि कमाउन त जानै पर्छ, नत्र घर कसरी चलाउनु, छोरी नि हेर्न पर्छ, बुढीले जान्छु भन्यो त्यसैले उसलाई विदेश पठाएको’ सुरज श्रीमतीलाई विदेश पठाउनुको कारण सुनाउनुहुन्छ ।
तर घर व्यवहार र तीन वर्षे छोरीका लागि आमा र बा दुवै बन्न गाह्रो छ । समयसँगै आजकाल छोरी सुरजसँगै रम्न थालेकी छन् । तर छोरी छाडेर आमा परदेश उडेका सुरुवाती दिन सम्झँदा सुरजको मनमा अहिले पनि गाँठो पर्छ ।
‘आमा जाने बित्तिकै बानी पर्न गाह्रो भयो, रोइरहने, आमा नै खोजिरहने गर्यो’ सुरज ति दिन सम्झँदै भन्नुहुन्छ ‘अहिले त मसँगै मान्छ, आमा खोज्न पनि छाड्यो अब ।’
श्रीमती घरमै हुँदा डुल्न, घुम्न र गाउँकै पसलहरूमा साथीसँग घण्टौँ भुल्नुहुन्थ्यो सुरज । घरभित्रको काम र छोरीको चिन्ता अहिलेको तुलनामा निकै कम हुन्थ्यो । तर आफ्नो काँधमा छोरीको पनि जिम्मेवारी आएपछि सुरज पुरै फेरिनु भएको छ । साथीभाइसँग सङ्गत र बाहिर घुम्ने डुल्ने काम बन्द भएको छ । काम परेर कतै गइहाल्दा पनि सुरजको मन आत्तिन्छ । छोरीको झल्कोले धेरै बेर कतै भुल्न दिँदैन । हतारिँदै घर आइपुग्नुहुन्छ ।
‘पहिलेजस्तो कतै जाउँजस्तो पनि लाग्दैन, छोरीकै मायाले जता गए पनि घर गइहालौंजस्तो लाग्छ’ मुस्कुराउँदै सुरज भन्नुहुन्छ ‘कति बेला घर पुगौँ र छोरी हेरौंजस्तो हुन्छ ।’
हेलम्बु गाउँपालिका ६ ढापसुङका मङ्गले तामाङको पनि कथा व्यथा उस्तै छ । श्रीमती लक्ष्मी तामाङ रोजगारीका लागि कुवेत गएको १० महिना भयो । घरमा छ र तीन वर्षका दुई छोरी छन् । कोदो, मकै र आलु फल्दा आफूलाई खान पुग्ने बारी पनि छ । छोरीहरूको रेखदेख र बारीको काम मङ्गले आफैँ भ्याउनुहुन्छ ।
भन्नुहुन्छ ‘अरू काम त जसोतसो गरेकै छु, तर बच्चाहरूलाई आमा भएजस्तो हुँदो रहेनछ ।’
३२ वर्षका मङ्गलेलाई आफूले बिताएको समयमध्ये सबैभन्दा कठिन यही समय लागेको छ । छोरीहरूलाई नुहाउँन, उनीहरुको लुगा धोइदिन, पकाएर खुवाउन, पढाउन र घर सरसफाइ गर्नु सबैभन्दा गाह्रो काम लाग्छ उहाँलाई ।
छोरीहरूको रेखदेखमा आफूले जाने जति त गर्नुहुन्छ, तर छोरीहरूको रेखदेख आमाले गरेजस्तो भएन भन्ने चाहिँ पलपलमा कड्किन्छ ।
‘आमा भएजस्तो बच्चाका लागि नहुने रहेछ, मैले जति नै गरे पनि उनीहरूलाई आमा भएजस्तो भएन’ मङ्गले भन्नुहुन्छ ‘काम पनि दुई जनाले गर्दा कति सजिलो हुन्थ्यो, एक्लै गर्न गाह्रो रहेछ, घरायसी काम त कति धेरै हुने ।’
श्रीमती करार सकिएर स्वदेश फर्किँदासम्म घर धान्न गाह्रो पर्छ भन्ने भन्ने लागिसकेको छ । तर जेजस्तो परिस्थिति आई लागे पनि, जति नै कठिन भए पनि अबका दुई वर्ष चाहिँ धान्छु भन्ने प्रण गर्नुभएको छ मङ्गलेले ।
मङ्गलेकै छिमेकी ३१ वर्षीय शुकमान तामाङले पनि घर व्यवहार आफूले मात्र धान्न थालेको दुई वर्ष पुग्न लाग्यो । श्रीमती आशामाया तामाङ ओमानमा काम गर्नुहुन्छ । घरमा ९ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।
यी दुई वर्ष एक्लै घर सम्हाल्दा शुकमान आत्तिनुभएको छ । बालबच्चा न्यास्रिएका छन् । तर आशामाया कहिले घर फर्किने भन्ने यकिन भइसकेको छैन ।
श्रीमतीको अनुपस्थितिमा एक्लै धानेको घर व्यवहारका कुरा भनिसाध्यै छैन । शुकमान एउटै शब्द भन्नुहुन्छ ‘गाह्रो रहेछ ।’ घरीघरी शुकमानको मनमा लाग्छ, बरु आफैँ गएको भए कमाएर पठाउँदा ढुक्क हुन्थ्यो होला ।
घरमा बालबच्चा र आफू मात्र हुँदा बालबच्चाको सरसफाइदेखि, खानपान, घर व्यवहार र खेती किसानीसम्म गर्नुपर्छ ।
‘बिहान पाँच बजे नै उठ्न पर्छ, बस्तुभाउको काम सकेर बच्चाहरूलाई पकाएर खुवाएर स्कुल पठाउने हो’ शुकमान भन्नुहुन्छ ‘लुगा धुने, नुहाइदिने, खाना पकाउने काम ढुङ्गा फोर्नुभन्दा पनि गाह्रो लाग्यो ।
खाद्यान्नदेखि लुगाफाटो किन्नका लागि कि त चनौटे बजार कि त किउल पुग्नपर्छ । गाडी हप्तामा एकपटक मात्र गाउँमा पुग्छ । वर्षा याममा बाटो बिग्रन्छ । हिँड्दा कति बेला पहिरो खस्छ भन्ने त्रासले थिच्छ । त्यसमाथि घरमा स–साना बालबच्चा मात्र छाडेर बजार जाँदा मन आत्तिन्छ ।
‘जसले कमाए पनि एक जनाले त कमाउनै पर्छ, बुढी अर्काको देशमा छ, मैले यहाँ घरमै पनि दुःख भयो भनेर के गर्नु’ शुकमान सुस्केरा हाल्नुहुन्छ ।
हेलम्बु गाउँपालिकाका धेरैजसो गाउँका महिलाहरू रोजगारीका लागि खाडी र मलेसिया गएका छन् । गाउँमा धेरैजसो पुरुषहरू मात्र भेटिन्छन् । श्रीमती कमाउन परदेश गएपछि श्रीमानहरूले नै दूधे बालबच्चाको रेखदेख, घरधन्दा र खेतबारी गरिरहेका छन् ।
सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत हेलम्बु गाउँपालिकामा वित्तीय साक्षरता सहजकर्ता किरण ज्योति भन्नुहुन्छ ‘धेरैजसो गाउँका घर पुरुषहरूले घर चलाइरहनुभएको छ, अहिले धेरैजसो घरमा आमाहरू भेटिँदैनन्, बालबच्चा बुवासँग हुर्किरहेका छन् ।’
पछिल्लो समय सिन्धुपाल्चोक सँगसँगै देशभरिबाट महिलाहरू पनि रोजगारीका लागि विदेश गइरहेका छन् । गएको माघ महिनामा ६४ हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिँदा तीमध्ये महिलाको सङ्ख्या करिब ६ हजार थियो ।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सही सदुपयोग गर्न सिकाउँदै गाउँ गाउँ हिँड्ने सहजकर्ता ज्योति आफ्नो अनुभवको आधारमा भन्नुहुन्छ, ‘पुरुष जाँदा एजेण्टलाई लाखौँ रुपैयाँ तिर्नपर्छ, महिलाहरू धेरैजसो निःशुल्क जान पाउँछन् र पैसा नै तिर्न पर्दा पनि कम पर्ने भएकाले गाउँ गाउँबाट महिलाहरू परदेशिने क्रम बढेको छ ।’
हेलम्बु गाउँपालिका ६ ढापसुङमा रहेको ढापसुङ आधारभूत विद्यालयमा अध्ययन गर्ने धेरैजसो बालबालिकाका आमा परदेशमा छन् । महिला काममा बाहिर गएपछि साना बालबच्चालाई बुवाहरूले स्कुल पठाउने गरेका छन् । तर स्कुल आएका बालबालिकाहरूमा पढाइमा ध्यान नदिने, रोइरहने, टोलाइरहने, दिएको होमवर्क नगर्नेजस्ता अनेक समस्या छन् भन्नुहुन्छ विद्यालयका प्रधानाध्यापक योगबहादुर पाण्डे ।
‘अवस्था दयनीय छ, आमा गएदेखि सरसफाइमा कमी छ, भर्ना नै नभएका बालबालिका पनि विद्यालय आइरहेका छन्’ प्रधानाध्यापक पाण्डे भन्नुहुन्छ ‘बालबालिकालाई नल्याउनुस् भन्न सक्दैनौँ, घरमा हेर्ने मानिस छैनन्, बुवाले खेतीपाती हेरुन् कि छोराछोरी, कतिपय बच्चा त रोइरहन्छन्, अरू कक्षा समेत डिस्टर्ब हुनेगरी ।’
वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा कमाउन जाने महिलाको सङ्ख्या त कम छ, तर बुवा वा आमा जो विदेश गए पनि बुवा वा आमासँग मात्रै हुर्किरहेका बालबालिकाहरूमा मानसिक र भावनात्मक असर परेको विभिन्न अध्ययनले देखाएको छ ।
वैदेशिक रोजगार बोर्डले गरेको अध्ययनले पनि बुवा वा आमामध्ये एक जनासित मात्रै हुर्किरहेका बालबालिकामध्ये ९९ प्रतिशतले बुवा आमाकै साथमा बस्ने चाहना रहेको बताएको देखाएको छ । अध्ययनले, आमाबुवासँगै बाल्यकाल बिताउन नपाउँदा बालबालिकाहरूमा संवेगात्मक विकासमा समस्या बढेको अथवा रिस, आक्रोश र अटेर गर्ने जस्ता समस्यामा रहेको पाइएको छ ।
सन् २०१६ मा सुरक्षित आप्रवासन सामी कार्यक्रमले ८ हजार ९ सय ३३ घरपरिवारमा गरेको अध्ययनमा आमा वा बुवा साथमा नहुँदा बालबालिकाले आफ्ना समस्या तथा भावनाहरू दबाएर राख्ने गरेको पाइएको थियो भने आमा परदेश जाँदा धेरैजसो बालबालिका आफन्त र नातेदारको भरमा हुर्कने गरेको देखाएको थियो ।
श्रीलङ्काको साउथ इस्टर्न विश्वविद्यालयको जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले आमा वैदेशिक रोजगारीमा गएका बालबालिका लैङ्गिक हिंसामा पर्ने सम्भावना बढी भएको देखाएको छ ।
वरिष्ठ मनोविद् करुण कुँवर भन्नुहुन्छ, ‘बुवा आमा वा दुई मध्ये एक वैदेशिक रोजगारीमा रहँदा बालबालिकाले मनोवैज्ञानिक रूपमा निकै अप्ठेरो महसुस गरेको पाइन्छ, कतिपयले स्कुल जान छाड्ने, घरको काम गर्नुपर्ने, घरमा भएका अरू सदस्यबाट सहयोग नपाउने अवस्थाबाट बालबालिकाहरू गुज्रन परेको छ ।’
बालबालिकाहरू हिंसामा पर्ने र बेचबिखनमा पर्ने जोखिम हुने पनि उहाँ बताउनुहुन्छ ।
आमा वा बुवासँग मात्र हुर्केका बालबालिकाले एक्लोपनको महसुस गर्ने, अभिभावकको अभाव उनीहरूको मनमा खड्किरहने, अझ आमाको माया नहुँदा आफूलाई एक्लो महसुस गर्ने, असुरक्षित ठान्ने, सुरक्षाका लागि कतिपय अवस्थामा अप्ठेरा खालका सम्बन्धहरू बनाउने, आमा र बा दुवैको माया नपाउँदा उनीहरूले अरूलाई गर्ने मायामा समेत फरक पर्ने र यसले तत्कालीन र दीर्घकालीन दुवै असर पर्ने वरिष्ठ मनोविद् कुँवर बताउनुहुन्छ ।
आफूलाई बेकार महसुस गरेर कतिपयले त आफू बाँच्नुको अर्थ नदेख्ने र आत्महत्यासमेत गर्न सक्ने जोखिम हुने उहाँको भनाई छ ।
साधारणता हाम्रो समाजमा श्रीमान् कमाउन परदेश जान्छन् । श्रीमतीले घर व्यवहार सम्हाल्छन् । तर पछिल्लो समय गाउँ गाउँबाट महिलाहरू रोजगारीका लागि विदेशसम्म पुग्नु र अन्तर्राष्ट्रिय श्रम बजारमा महिलाको उपस्थितिले परिवार, समाज र देशमा सकारात्मक अर्थ राख्न थालेको ठान्नुहुन्छ मानवशास्त्री सुरेश ढकाल ।
‘वैदेशिक रोजगारीको राम्रो र नराम्रो दुवै पक्ष छ, दूधे बच्चा छाडेर यदि कमाउन गएको हो भने त्यसले पार्ने असर फरक होला, तर आमाले मात्र घर हेर्नुपर्छ, बालबच्चालाई खुवाउन पर्छ, हुर्काउन पर्छ भन्ने जुन लैङ्गिक कार्य विभाजन छ त्यो चाहिँ पछिल्लो समय तोडिँदै गएको छ’ मानवशास्त्री ढकाल भन्नुहुन्छ ।
धन कमाउन महिला परदेश जाने प्रवृत्तिलाई पछिल्लो समय समाजले पनि सहज रूपमा लिन थालेको छ । बालबच्चाको लालनपालन र घरको काम महिला पुरुष दुवैले मिलीजुली गर्ने क्रम बढ्दो छ । पुरुषहरूले जिम्मेवारी लिएर बालबच्चा एकदमै राम्रोसँग हुर्काएका उदाहरण पनि छन् ।
‘आमाले नहुर्काउँदैमा छोराछोरीमा ठुलै फरक पर्छ भन्ने होइन, पुरुषले बालबच्चा हुर्काउने महिलाले कमाएर घर चलाउने चलन एकदमै न्यून छ’ मानवशास्त्री ढकाल भन्नुहुन्छ ‘आर्थिक क्षेत्रमा महिलाको उपस्थिति हुनु, विदेश गएर कमाउने हैसियत राख्नु र निर्णय गर्ने क्षमता बढ्दै जानु भनेको समाज परिवर्तन हुँदै छ भन्ने हो, यसले सकारात्मक अर्थ राख्छ ।’
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।