विश्वभरको चासो : को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

 कात्तिक २०, २०८१ मंगलबार ८:१८:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ४७ औँ राष्ट्रपति बन्नका लागि ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएपनि १६ करोड ८० लाखले मतदानका लागि दर्ता गरेको तथ्याङ्क छ । त्यसैगरी कूल इलेक्टोरल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणअनुसार थोरै मतान्तरले जीतको छिनोफानो हुन सक्ने देखाएको छ । अमेरिकामा हुने सत्ता परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ । त्यसैले पनि नतिजा आफ्नो पक्षमा पार्न दुवै पार्टीले सबै संयन्त्र परिचालन गरेका छन् ।

विशेषगरी आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेटिक र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । यो चुनावमा ह्यारिस विजयी भएमा दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण हुनेछ ।

त्यस्तै मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सत्तामा पुग्न कडा मेहनत गरेको अवस्था छ । अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्यगरी सात राज्य (एरिजोना, जर्जिया, मिसिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग अर्थात् (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा विश्लेषण गरिएको छ ।

यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् ।

अमेरिकामा सामान्यतया विजेता प्रायःचुनाव सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताले थाहा पाउने गरेका छन् । तर केही विशेष परिस्थितिमा चुनावको परिणाम आउन समय लाग्न सक्ने हुन्छ ।

नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५, जनवरी २० तारिखमा अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथग्रहण गर्नुहुनेछ । वर्तमान राष्ट्रपति जो बाइडेन हुनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया