बैंकका सीईओलाई गभर्नरको सुझाव : कमसेकम इन्टरनेटमा भए पनि पढ्नुस्, विदेशका कुरा बुझ्नुस्

 असार २३, २०७६ सोमबार १८:४७:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै - उद्योगी व्यापारी तथा बैंकरहरुले बैंक र उद्योगी व्यापारीबीच विवाद नआउने हिसावले मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा सुझाव संकलनका लागि गरेको कार्यक्रममा उनीहरुले राष्ट्र बैंकले ल्याउने माैद्रिक नीतिले उद्योगी व्यापारी, बैंक र सर्वसाधारण सबैलाई सकारात्मक प्रतिफल दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चर्को ब्याजदरका कारण चालु आर्थिक बर्षमा बैैंक र उद्यागी व्यापारीबीचको सम्बन्ध चिसिएको भन्दै आउँदो मौद्रिक नीतिमार्फत असन्तुलित ब्याज नियन्त्रण गर्न सुझाव दिनुभयो ।

उहाँले कर्जा र निक्षेपबीचको फरक अर्थात स्प्रिड दर घटाएर साढे ३ प्रतिशतमा झार्न पनि माग गर्नुभयो । यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकमा लगानीयोग्य रकम अर्थात तरलता अभाव हुँदा ब्याजदरमा तलमाथि गर्नुपर्ने बाध्यता रहेको भन्दै तरलता अभाव कम गर्न मौद्रिक नीति केन्द्रित हुनुपर्ने माग गर्नुभयो । उहाँले बैंकहरुको मर्जरलाई बलपूर्वक भन्दा पनि बैंकहरुको समझदारीमा गाभ्ने नीति ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा गर्भनर चिरिञ्जीवी नेपालले सरकारले राखेको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि भेटाउने गरी मौद्रिक नीति ल्याउने भन्दै बैंक र उद्योगी व्यापारीलाई देशको आवश्यकतालाई पनि ध्यान दिनु आग्रह गर्नुभयो । अस्वस्थ प्रतिस्पर्धा कम गर्न र आर्थिक स्थायित्वको लागि बिग मर्जरको आवश्यकता रहेको भन्दै उहाँले विकसित देशका उदाहरण हेर्न पनि सुझाव दिनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, फाइनान्स  कम्पनी, लघुवित्त कम्पनी, साना तथा मझौला उद्योग संघ, सुनचाँदी व्यवसायी संघ लगायतले मौद्रिक नीतिको बारेमा सुझाव दिएका छन् । 

 ब्याजको विषयमा घोचपेच

कार्यक्रममा बैंकहरुको ब्याजदर र बिग मर्जरको बारेमा घोचपेच भयो । सुझाव दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले घुमाउरो भाषामा बैंकहरुको ब्याजदर चर्को र असन्तुलित भएको भन्दै यसलाई कस्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो । तर नेपाल चेम्बर अफ् कमर्सका महासचिव कमलेश अग्रवालले भने मुखै फाेरेर बैंकहरुको कार्टेलिङ अन्त्य गर्न सुझाव दिनुभयो । 

‘ब्याजदर ७ देखि ९ प्रतिशतसम्म हुनुपर्छ, फिक्स फ्लोटिङ ब्याजदरलाई कार्यान्वयनमा ल्याउनुपर्छ,  डिपोजिटमा कार्टेलिङ होइन कि लेण्डिङमा कार्टेलिङका लागि राष्ट बैंकले पहल गर्नुपर्छ’, अग्रवालले भन्नुभयो ।  उहाँले बैंकहरुको स्प्रिड दर साढे ३ प्रतिशतमा ल्याउन पनि माग गर्नुभयो । 

ब्याजदरकै विषयमा बोल्ने पालो आयो नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको  । उहाँले पनि लगानीयोग्य रकमको अभाव भएको भन्दै मौद्रिक नीतिले तरलता योग्य रकम बढाउने उपायसहितको मौद्रिक नीति ल्याए व्यापारी र बैंकबीच सम्बन्ध चिसिन नपाउने बताउनुभयो । 

‘बैंकमा लगानीयोग्य रकम नहुँदा विगतदेखि नै लगातार ब्याजदरका चाप पर्दै आएको छ, हामीले आन्तरिक सहमति गरेर भए पनि समस्या समाधानको प्रयास गर्‍यौँ, आउँदो वर्षदेखि हामीले सम्झौता गरेर विवाद समाधान गर्नु नपरोस, बैंकिङ नीतिले नै समाधान गरोस्', ढुंगानाले भन्नुभयो, ‘हामी निश्चित स्प्रिडमा चल्ने भएको हुनाले ब्याजदर एक अंकमै झरोस् भन्ने चाहना हो, नीति त्योतर्फ केन्द्रित हुनुपर्छ ।’

सुझाव दिने क्रम सकिनै लागेपछि त्यसपछि गभर्नरले व्यङ्ग्य हान्नुभयो, ‘सीईओ साबहरुसँग केही प्रश्न या विचार भए राख्न सक्नुहुन्छ, व्यवसायी मित्रहरुले पनि राख्नुहोस, मैले झगडा गर्न भनेको हैन, सुझाव दिन भनिरहेको छु ।’ हलभर हाँसो फैलियो । 

केही समयअघि बैंकर र व्यवसायीबीच ब्याजदरको विषयमा झण्डै हात हालाहालको घटनातर्फ गभर्नरको व्यङ्ग्य थियो । 

मर्जरमा पनि उस्तै घोचपेच, नेट सर्च गर्न गभर्नरको सुझाव

ब्याजदरको घोचपेचपछि कुरा बिग मर्जरमा पुग्यो । बिग मर्जरको बारेमा उद्योगी व्यापारी तटस्थ हुन खोजे पनि बैंकर र राष्ट्र बैंकका गभर्नरबीच भने जुहारी जस्तै चल्यो । 

अग्रवालले बिग मर्जरलाई पनि व्यङ्ग्य गर्नुभयो, ‘केही दिनअघि गभर्नरकै उपस्थितिमा हामीले बिग मर्जरलाई विवाहसँग तुलना गरेका थियौं, तर यो त विवादभन्दा पनि कठिन रहेछ, विवाहमा त २ शरीर एक आत्मा हुन्छ, तर यहाँ त एक शरीर, एक आत्मा नै हुनेभयो के, त्यसैले यसमा हामीले फोर्स गर्दाबित्तिकै कर्मचारीलाई धेरै नराम्रो असर पर्छ ।’

बैंकर संघको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जरमा राष्ट्र बैंकले जबरजस्ती गर्न लागेको भन्दै घुमाउरो प्रतिक्रिया दिनुभयो । ‘बजारमा धेरै प्लेयर भए भने राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन दिनुपर्छ, स्वत:स्फुर्त रुपमा बैंकहरु गाभिने गरी राष्ट्र बैंकले नीति ल्याउनुपर्छ, न कि भोलि राष्ट्रबैंकले पुरै हस्तक्षेप गर्नु नपरोस, विगतमा के कस्ता समस्याले मर्जर सोचेजस्तो सफल हुन सकेन भनेर अध्ययन गर्नु उपयुक्त हुन्छ होला’, उहाँले भन्नुभयो । 

त्यसपछि बोलेका बैंक अफ् काठमाण्डाैका सीईओ शोभनदेव पन्तले यदि अहिले मर्जरलाई बाध्यकारी बनाउने हो भने विगतमा जथाभावी लाइसेन्स किन बाँडेको भनेर प्रश्न गर्नुभयो । उहाँले मलेसियाको उदाहरण दिएर त्यहाँ मर्जरको नाममा राजनीतिकरण भएको भन्दै सबै  विदेशी उदाहरण नेपालमा कार्यान्वयन गर्न नमिल्ने बताउनुभयो । 

तर राष्ट्र बैंकका गभर्नरले भने बैंकरहरुलाई पर्याप्त पढ्न सुझाव दिनुभयो । उहाँले नेपालका उद्योगी व्यापारी र बैंकरले पहिले माग गर्ने र त्यै माग पूरा गर्न लाग्दा फेरि पछि हट्ने चलन हटाउन सुझाव दिनुभयो । त्यस्तै बैंक तथा वित्तीय संस्थाको क्षेत्र भनेको पढेलेखेका व्यक्तिले हाँक्ने क्षेत्र भएकाले त्यसै अनुसारका कुरा गर्न पनि सुझाव दिनुभयो । 

‘अहिले अमेरिकामा पनि मर्जरको कुरा चलिरहेको छ, त्यहाँ त सबै कुरा उहिल्यै विकास भएको हो, अहिले किन मर्जरको कुरा आयो त, तपाईँहरु त पढेलेखेको हुनुहुन्छ कम्तीमा नेट खोलेर पढ्नुस न', गभर्नर नेपालले भन्नुभयो, ‘राष्ट्र बैंकले पनि समय सापेक्ष नीति ल्याउँछ, बुझेर ल्याउँछ, तपाईँहरुले सहयोग गरिदिनुस ।’

उहाँले अमेरिकामा किन बैंक मर्जर हुँदैछन् भन्ने कुरा पढेर बुझ्न पनि अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया