जुत्ता, चप्पल सिलाएरै मासिक ५० हजार कमाइ

 मंसिर ५, २०७६ बिहीबार ७:४३:२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–८, कुसुण्डेका टेकबहादुर नेपालीले चार दशकभन्दा धेरै समय गाउँघरमै कर्मी काम (काठको काम) गर्नुभयो । त्यस समयमा काम अनुसारको कमाइ राम्रै थियो । कमाइले घर–व्यवहार राम्रैसँग चलेको थियो । तर बिस्तारै धमाधम फर्निचर उद्योग खुल्न थालेपछि गाउँघरमै काम पाउन मुस्किल पर्यो ।

‘फर्निचर धेरै खुले, हामीलाई काम पाउनै गाह्रो’ उहाँले भन्नुभयो ।

कर्मी काम पाउन छाडेपछि उहाँले पुर्ख्याैली पेशालाई निरन्तरता दिने सोच बनाउनुभयो । कर्मी काम गर्दा पनि उहाँ बेलाबेला जुत्ता चप्पल सिलाउने काम गर्नुहुन्थ्यो । त्यतिबेला काम गरेबापत अन्न पाइन्थ्यो । पैसा मिल्दैनथ्यो ।

‘बालीमा धेरै समय काम गरियो । वर्षभरि केही पाथी धान पाइन्थ्यो । बालीमा काम गर्दा गुजारा चलाउन साह्रै गाह्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
दुःख धेरै, तर कमाइचाहिँ कम हुने भएपछि उहाँले पुख्र्यौली पेशालाई व्यवसायमा बदल्नुभयो ।

मासिक ५० हजार कमाइ

सुन्दरबजार नगरपालिका–९, सिउँडीबार चोकमै उहाँले आफ्नै लगानीमा सात वर्षदेखि ‘सुज सेन्टर’ चलाउँदै आउनुभएको छ । उहाँले जुत्ता–चप्पल मर्मत तथा बिक्री गर्नुहुन्छ ।

‘चोकमै पसल छ । हर्राबोट, कुन्छा, सुन्दरबजार, दुराडाँडा, सिउँडीबार, भोटेओडार लगायतका ठाउँबाट मानिसहरु जुत्ता–चप्पल सिलाउन आउँछन् । नयाँजुत्ता–चप्पल पनि किनेर लैजान्छन्,’ उहाँले भन्नुभयो ।

उहाँले एकजोर जुत्ता सिलाएको १ सय ३० रुपैयाँ र चप्पल सिलाएको १ सय रुपैयाँ लिनुहुन्छ । ‘जुत्ता–चप्पल मर्मतका साथै बिक्रीबाट मासिक झण्डै ५० हजार कमाई हुन्छ,’ उहाँले भन्नुभयो ।

यस व्यवसायमालागेपछि समयको सदुपयोगसंगै अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ ।

‘उमेर घर्किदैँ गयो । बल–जोडको काम गर्न सकिँदैन । त्यसैले पुर्ख्याैली पेशालाई व्यवसायिक रुपमा सञ्चालन गरेको छु,’ उहाँले थप्नुभयो, ‘बसिबियाँलो  भएको छ, साथमा कमाइ पनि । यस व्यवसायबाट राम्रै कमाइ छ ।’

‘पसिना बगाएर खानुपर्छ’

जुत्ता–चप्पल सिलाउने काम उहाँले आफ्नो मामाबाट सिक्नुभएको हो । टेकबहादुरको उमेर घर्किदैँ गएको छ । तर उहाँलाई ‘सकुञ्जेल हातपाखुरा बजारेर खानुपर्छ’ भन्ने लाग्छ । त्यसैले ढल्किँदो उमेरमा पनि उहाँले जोस–जाँगरका साथ हात–पाखुरा चलाइरहनुभएको छ । 

‘सकुञ्जेल हातपाखुरा बजारेर, श्रम–पसिना बगाएर खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले मैले यो उमेरमा पनि आफूले जानेको काम गरिरहेको छु ।’

हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उहाँ बताउनुहुन्छ । ‘गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया