हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–१, ठूलो धिमिरेका विष्णुप्रसाद पन्त २०४८ सालदेखि सुन्तला खेतीमा संलग्न हुनुहुन्छ ।
४ रोपनी जग्गाबाट सुन्तला खेती सुरु गर्नुभएका पन्तले पछि ८ रोपनी जग्गामा विस्तार गर्नुभयो । विगतमा सुन्तला खेतीबाट राम्रै कमाइ भएर सजिलै गुजारा चलेको भए पनि पछिल्ला केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएकोमा उहाँ निराश हुनुहुन्छ ।
‘अहिले सुन्तलाका बोट मर्दै गएकाले उत्पादन र कमाइ पनि घट्दो छ,’ उहाँले भन्नुभयो, ‘विगत केही वर्षअघिसम्म सुन्तला बिक्रीबाट २ लाखसम्म कमाइ हुन्थ्यो । यसवर्ष सुन्तला बिक्रीबाट १३ हजार रुपैयाँमात्र कमाइ भयो ।’
सुन्तला खेती नफस्टाएपछि उहाँले अहिले विकल्पको रुपमा केरा, कागती खेती सुरु गर्नुभएको छ ।
‘बर्सेनि सुन्तला उत्पादन घट्दो छ । जमिन बाँझो राख्नुभएन । बिस्तारै सुन्तला खेतीलाई प्रतिस्थापन गर्दै केरा, कागती खेती सुरु गरेको छु,’ उहाँले भन्नुभयो, ‘केरा खेतीमा राम्रै कमाइ छ । केरा खेती फस्टाउनेमा आशावादी छु ।’
बेसीशहर–१, पौडेल गाउँका इन्द्रबहादुर खड्काले पनि केही वर्षअघि सुन्तला बेचेर बर्सेनि ९० हजारसम्म कमाइ गर्दै आउनुभएको थियो । तर अहिले उहाँले लगाएको सुन्तला खेती मासिँदै गएको छ ।
‘चार रोपनी जग्गामा सुन्तला लगाएको हो । पहिले सुन्तला बेचेर राम्रै कमाइ हुन्थ्यो,’ उहाँले निराशा भावमा भन्नुभयो, ‘पछि बिस्तारै सुन्तलाका बोट मर्दै गए । सुन्तलाका बोट दाउरा बालेर सकिए । अहिले परिवारलाई खान पुग्ने सुन्तला पनि छैन ।’
उहाँ सुन्तला खेती छोडेर अहिले व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।
उत्पादनसँगै कमाइ घट्दो
ठूलो धिमिरेकै इन्द्रबहादुर पन्तको पीर–व्यथा पनि उस्तै छ । सुन्तला उत्पादक किसान पन्तको उत्पादनसँगै कमाइ पनि बर्सेनि घट्दो छ । ‘विगतमा सुन्तला बिक्रीबाट दुई लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो । पछिल्ला वर्षहरुमा उत्पादन घट्दो छ । कमाइ पनि घटेको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सुन्तलाका बोट मर्दै गएको, फलेका सुन्तलाको दाना साना रहेकाे र सुन्तलाकाे स्वाद अमिलो छ, रसिलो पनि छैन ।
विगतमा सिजनको बेला लमजुङको चिप्लेटी, रतनपुर, पौडेलगाउँ, सानो धिमिरे, ठूलो धिमिरे, चिती स्याउत लगायतका थुप्रै गाउँ सुन्तलाले पहेँलपुर देखिन्थे । सुन्तला उत्पादन राम्रो हुन्थ्यो । स्थानीयले सुन्तला बिक्रीबाटै लाखौँ कमाउँथे । सुन्तला टिप्नलाई केहीले काम समेत पाउँथे । अहिले भने सुन्तला मासिँदै गएकाले त्यस्तो अवस्था नरहेको स्थानीय बासिन्दा बताउँछन् ।
बर्सेनी सुन्तला उत्पादन घट्दो
लमजुङमा ३ सय ६५ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गरिएकोमा उत्पादनशील २ सय ८५ हेक्टर क्षेत्रफलबाट यसवर्ष लमजुङमा १८ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार गतवर्ष ५ सय २६ हेक्टर क्षेफलमा सुन्तला खेती गरिएकोमा उत्पादनशील ४ सय ९३ हेक्टर क्षेत्रफल जमिनबाट ३ हजार ९ सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
उहाँका अनुसार विगत ५-७ वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा बर्सेनि सुन्तला उत्पादन घट्दै गएको देखिन्छ ।
‘ग्रिनिङ’ रोगको समस्या
‘ग्रिनिङ’ रोगका कारण सुन्तला उत्पादन घट्दै गएको हुनसक्ने केन्द्रका बागवानी विकास अधिकृत (आठौँ तह) विरेन्द्र धिताल बताउनुहुन्छ ।
‘सुन्तलामा ‘ग्रिनिङ’ रोग देखा पर्नु, सुन्तला बगैँचाको राम्रो व्यवस्थापन हुन नसक्नुका साथै परम्परागत खेती प्रणालीका कारणले पनि उत्पादन घट्दै गएको हुन सक्छ,’ उहाँले भन्नुभयो ।
अन्यत्रबाट सुन्तला आयात
विगतमा देशका काठमाण्डौ, पोखरा, चितवन लगायतका मुख्य शहरी क्षेत्रमा लमजुङमा उत्पादित सुन्तलाको माग धेरै हुन्थ्यो । लमजुङमा उत्पादित ठूलो दानाका साथै रसिला र गुलिया सुन्तला उपभोक्ताको रोजाइमा पर्थे । त्यसैले सुन्तला किन्न व्यापारीहरु किसानको बगैँचामै पुग्थे ।
विगतमा ठूलो परिमाणमा अन्यत्र सुन्तला पठाउने लमजुङमा अहिले गोरखा, तनहुँ लगायतका छिमेकी जिल्लाबाट सुन्तला आयात गर्दै आएको छ ।
सुन्तलामा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले पहलकदमी लिनुका साथै आधुनिक कृषि प्रविधिको उपयोग गरी व्यवस्थित बगैँचा निर्माण गरी उन्नत जातका बिरुवा लगाई सुन्तला खेती गर्न सकिए, सुन्तला खेतीबाटै किसानको आयस्तर उकास्न सकिने सरोकारवालाहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।