सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - हिजोआज धेरै घर स्कुलजस्ता, अनि अभिभावक चाहिँ शिक्षकजस्ता भएका छन् । स्कुल कलेजले अनलाइन कक्षा सुरु गरेपछि केटाकेटी भएका घरमा बिहानदेखि बेलुकासम्म स्कुलमा जस्तै पढाइको गतिबिधि हुन्छ । अनि स्कुलमा शिक्षकले गर्नुपर्ने काम चाहिँ बाबुआमा र घरका अरु अभिभावकले गरिरहेका छन् ।
स्कुल जाने समयमा पनि केटाकेटी घरमै हुँदा अभिभावकलाई अरु सबै काम छोडेर उनीहरुको रेखदेख गर्नुपर्ने बाध्यतासँगै अनावश्यक आर्थिक भार पनि थपिएको छ । पहिले छोराछोरीलाई मोबाइल र ल्यापटप नभए पनि हुन्थ्यो । अहिले पढ्नकै लागि मोबाइल या ल्यापटप जुटाइदिनु परेको छ ।
पहिले छोराछोरी स्कुल जान्थे, घर र अफिसको काम मज्जाले गर्न पाइन्थ्यो । अझ घरमा हेर्न भ्याईंदैन भनेर छोराछोरीलाई सानैमा स्कुल पठाउनुपर्ने बाध्यता पनि धेरै बाबुआमालाई छ । लकडाउनका कारण घरभित्रै बस्दासम्म त छोराछोरीको रेखदेख र पठनपाठनमा सहयोग गर्न खासै समस्या थिएन । तर लकडाउन खुलेपछि काम नियमित भएको छ । बाबुआमा नै जागिरे छन् भने त अहिले एकजनाले काम नै छाडेर घरमा छोराछोरीको पढाइमा सहयोग गर्नुपर्ने अवस्था छ ।
अनि जागिर नभएका बाआमालाई पनि उत्तिकै गाह्रो छ । छोराछोरी स्कुल जाँदा घरको काम गर्न भ्याइन्थ्यो । तर छोराछोरीको स्कुल नखुल्दा दिनभरी उनीहरुकै ‘गोठालो’ भएर बस्नुपर्छ । सबै केटाकेटीले मोबाइल र ल्यापटप चलाउन जान्दैनन् । अनलाइन कक्षा सुरु हुनुअघि सबैथोक ठिकठाक पारेर मोबाइल या ल्यापटप खोल्ने काम बाआमाले गर्नुपर्छ । बेलाबेला मोबाइल र ल्यापटप ह्याङ हुने, इन्टरनेट र बिजुली गैरहने समस्या हुन्छ ।
अझ कतिपय केटाकेटी त अनलाइनमा पढ्न छाडेर साथीसँग गफगाफ र गेममा भुल्न थाल्छन् । त्यतिबेला उनीहरुको ध्यान पढाइमा केन्द्रित गर्नुपर्ने काम पनि बाआमाले नै गर्नुपर्छ । जबकी कक्षाकोठामा केटाकेटीले पढाइमा ध्यान केन्द्रित गर्नुपर्ने काम शिक्षकको हो । यस अर्थमा केटाकेटीको सिकाइ क्रियाकलापमा अहिले शिक्षकभन्दा बढी बाआमा तथा अरु अभिभावकको भूमिका छ । उनीहरुले अभिभावकको भूमिका मात्रै निभाएका छैनन्, शिक्षकले गर्नुपर्ने काम समेत गरिरहेका छन् ।
घरमा स्कुलको जस्तै वातावरण दिएर कक्षाकोठामा शिक्षकलेझैं पढाउन सहयोग गर्ने अभिभावकको भूमिका र योगदानलाई स्कुल सञ्चालक र शिक्षकले महत्व दिएका छैनन् । नियमित पठनपाठनबारे ठोस निर्णय गर्न नसक्ने सरकारलाई त यसको मतलब नै छैन । स्कुल सञ्चालकको ध्यान पनि कसरी हुन्छ शुल्क उठाउनमा मात्रै केन्द्रित छ।
केहीकेही स्कुलले यसबीचको शुल्क नलिने घोषणा गरे पनि कतिपय स्कुलले सामान्य अवस्थामा जस्तै शुल्क तिर्न अभिभावकलाई उर्दी लगाएका छन् । नियमित स्कुल सञ्चालनको बेलामा जस्तो भर्ना शुल्क, क्यान्टिन शुल्क, यातायात शुल्क, खेलकूद शुल्क, पुस्तकालय शुल्क, सुरक्षा शुल्क लगायत मिल्दै नमिल्ने शीर्षकमा समेत शुल्क मागिरहेका छन् ।
सबै स्कुल त्यस्ता छैनन् । तर केही स्कुलका कारण अभिभावक मारमा परेका छन् । योबेला त निजी स्कुल सञ्चालकहरुले उल्टै अभिभावकको लागि पैसा छुट्याउनुपर्ने हो । केटाकेटी घरमा हुँदा तपाईंलाई बढी भार भयो, अनलाइन कक्षाको बेला शिक्षकले जत्तिकै समय दिएर सिकाइ क्रियाकलाप गराउनुभयो, मेहनत गर्नुभयो, त्यसैले स्कुललाई तिनुपर्ने यति प्रतिशत शुल्क तपाईंलाई छुट्याएका छौं अर्थात तपाईंले स्कुललाई तिर्नुपर्ने शुल्कमा यति प्रतिशत मिनाहा गरेका छौं भनेर भन्न सक्नुपर्ने हो । तर स्कुल सञ्चालकले यतातिर ध्यान नै दिएका छैनन् । केही स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकसँग पूरै शुल्क मागिरहेका छन् । अनलाइन नपढाउने कतिपय स्कुल पनि शुल्क उठाउने बहाना खोज्दैछन् ।
यस्तो बेला अभिभावकसँग सामान्य अवस्थामा जस्तो शुल्क उठाउनु कुनै पनि हालतमा न्यायोचित हुँदै होइन । अनलाइन कक्षा सञ्चालन भएबापतको रकम तिर्न त सबै अभिभावक तयार छन् । तर स्कुल नै नगएको अवधिमा यातायात शुल्क, क्यान्टिन शुल्क, पुस्तकालय शुल्क, खेलकूद शुल्क, सुरक्षा शुल्क लगायत अनुचित शीर्षकमा शुल्क माग्नु अन्यायपूर्ण र लज्जाको समेत विषय हो ।
कोरोनाको कारण स्कुल बन्द भएपछि धेरै शिक्षक कामविहीन भएका छन् । कतिको रोजगारी खोसिएको छ । स्कुल खुल्ने छाँट नदेखिएपछि कतिपयले वैकल्पिक पेशा रोजेका छन् । स्कुल खुल्छ र जान्छु भनेर घरमै पर्खेर बस्नेहरु पनि छन् । अनि कतिपय शिक्षकले अनलाइन कक्षा पढाएका छन् । गाउँटोलमा पुगेर विद्यार्थीको सिकाइ क्रियाकलापलाई निरन्तरता दिने शिक्षकहरु पनि छन् ।
तर अनलाइन कक्षा पढाउने शिक्षकले पनि पाउनुपर्ने जति तलब नपाएको गुनासो गरिरहेका छन् । स्कुल खुल्छ र पढाउन जाउँला भनेर घरमै पर्खेर बसेका शिक्षकहरु त झन् बढी मानसिक तनावमा छन् । उनीहरुलाई स्कुलले निकालेको पनि छैन, पैसा दिन सक्ने अवस्था पनि छैन । कतिपयले चैतको तलब समेत पाएका छैनन् । विद्यार्थीबाट चैत महिनाको पुरै तलब लिएका स्कुलले समेत आफूहरुलाई तलब नदिएको उनीहरुको गुनासो छ ।
अनलाइन कक्षालाई निरन्तरता दिएका शिक्षकले काम गरेअनुसारको तलब पाउनुपर्छ । अनलाइन कक्षा पढाएको भन्दै अभिभावकसँग शुल्क लिने स्कुलले शिक्षकलाई चाहिँ समयमै तलब नदिनु अन्याय हो ।
एउटा कुरा सत्य हो, कोरोनाले अरु क्षेत्र र सेवाजस्तै निजी स्कुल पनि संकटमा छन् । सञ्चालकहरुको लगानी जोखिममा छ । कतिपय बन्द गर्नुपर्ने अवस्थामा पनि पुगेका छन् । तर अर्को कुरा पनि के सत्य हो भने सामान्य अवस्थामा धेरै मुनाफा कमाउने निजी स्कुलहरु पनि धेरै छन् ।
संकटको योबेला उनीहरुले त्यही मुनाफाबाट आर्जित रकम सदुपयोग गर्न सक्छन् । कतिपय स्कुल सञ्चालन हुन थालेका छन् । अरु स्कुल पनि दशैँ तिहारपछि खुल्छन् । त्यसपछि पढाइसँगै आम्दानी पनि नियमित हुन्छ । बीचको यो समयमा अभिभावकसँगै शिक्षक र कर्मचारीको चित्त बुझाउनु निजी स्कुल सञ्चालकहरुको कर्तव्य हो ।
अनलाइन कक्षा पढाइरहेका शिक्षकहरुलाई उनीहरुले पाउनुपर्ने जति तलब दिन कञ्जुस्याइँ गर्नु हुन्न । अनि पढाउन नपाएर पर्खिरहेका शिक्षकहरुलाई पनि दशैँ खर्च भनेर केही रकम छुट्याउन सक्ने हैसियत सबै निजी स्कुल सञ्चालकसँग छ । बीचमा जे भयो भयो अब चाडपर्वपछि नियमित पढाइ हुन्छ, अहिलेलाई दशैँ मान्ने अलिकति पैसा छुट्याएका छौं भनेर शिक्षकको हातमा थोरै रकम राखिदिए मात्रै पनि उनीहरुको हौसला बढ्छ । चैतमा विद्यार्थीसँग पूरै शुल्क लिने तर शिक्षकलाई फागुनसम्मको मात्रै तलब दिनु त बेइमानी हो । सबै शिक्षकले चैत महिनाको र पढाएबापतको तलब पाउनैपर्छ ।
त्यसो त शिक्षकहरुले पनि आफूलाई प्रविधिमैत्री बनाउन जरुरी छ । कतिपय शिक्षकले अनलाइन कक्षा पढाउन पनि जानेनन् भन्ने गुनासो छ । कोरोनाको कारण उत्पन्न असहज अवस्थामा परम्परागत ढंगले सिकाइ क्रियाकलाप अघि बढाउन सकिन्न । अनलाइन प्रविधिबाट पढाउन र विद्यार्थीलाई बुझाउन सक्ने क्षमता शिक्षकहरुमा हुनै पर्छ । कोरोनाको कारण उत्पन्न परिस्थितिअनुसार आफूलाई बदल्न सक्नुपर्छ । त्यसो भएमा स्कुलले पनि विनाकारण शिक्षकलाई हटाउन र तलब रोक्न सक्दैन ।
स्कुलप्रति शिक्षक र अभिभावक पनि जिम्मेवार हुनैपर्छ । अनि शिक्षक र अभिभावकप्रति स्कुल सञ्चालक पनि जिम्मेवार बन्नुपर्छ । स्कुलको शान र मान बढाउने आफ्ना शिक्षक र अभिभावकको योगदानलाई कदर गर्नु निजी स्कुल सञ्चालकको दायित्व त हुँदै हो ।
पहिले पनि जथाभावी शुल्क उठाएको र शिक्षक कर्मचारीलाई शोषण गरेको भन्ने आरोप खेप्दै आएका उनीहरुका लागि योबेला उदाहरणीय बनेर सकारात्मक छाप छाड्ने सुनौलो अवसर पनि हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।