सङ्क्रमण कम हुन थाल्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन

 जेठ ३०, २०७८ आइतबार ११:५९:० | डा. विराजमान कर्माचार्य
unn.prixa.net

काठमाण्डाै - सहरी क्षेत्रमा कोरोना  सङ्क्रमण कम हुँदै गए पनि गाउँ-गाउँमा बढ्दै गएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण  हुन नदिनका लागि सङ्क्रमितलाई अलग्याएर राख्नुपर्छ । परीक्षणबाट नै कोरोना भए, नभएको थाहा हुने भएकाले परीक्षणको दायरा बढाउनु र सङ्क्रमितलाई अलग्याएर राख्नु नै कोरोना नियन्त्रणको प्रभावकारी उपाय हो । 

सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई पाँचदेखि सात दिनसम्म छुट्टै  क्वरेण्टीनमा राखेर परीक्षण गर्नुपर्छ ।  लक्षण देखिएकाहरुको मात्रै नभइ  प्रत्येक घरको कम्तीमा एक जनाको परीक्षण गर्न आवश्यक हुन्छ । लक्षण देखिएको आधारमा मात्र परीक्षण गर्दा लक्षण नदेखिएकाले धेरैलाई सार्न सक्ने भएकाले समाजमा कोरोना सङ्क्रमण भुसको आगो जस्तै फैलन सक्छ । 

अहिले परीक्षण प्रभावकारी हुन सकेको छैन ।  प्रभावकारी बनाउने प्रयास गर्ने हो भने सकिन्छ पनि  ।  केही पालिकाहरुले वडावडामा गएर परीक्षण गरेका छन् । काभ्रे र सिन्धुपाल्चोकका  केही पालिकाहरुले यसरी परीक्षण गरेका थिए । कोरोना भाइरसको पहिलो लहरमा पालिकाहरुले अलि सक्रियताका साथ परीक्षणको कामलाई अगाडि बढाएका थिए ।  

कोरोना रिपोर्ट पोजेटिभ आएर घरमै आइसोलेशनमा बसेका, अस्पतालको आइसोलेशनमा रहेका वा अस्पताल भर्ना भएकाहरुको ज्यान गएमा उनीहरुको तथ्याङ्क कोरोनाका कारण ज्यान गुमाएकोमा टिपोट हुन्छ । तर परीक्षण नै नगरेको  अवस्थामा कोरोनाकै कारणले गर्दा ज्यान गुमाएका भए पनि कोरोनाका कारणले ज्यान गुमाउनेको टिपोटमा त्यो पर्दैन  । यसरी परीक्षण नै नगरि कोरोनाका कारणले ज्यान गुमाउनेहरु पनि प्रशस्तै हुन सक्छन् ।  त्यो कारणले गर्दा सरकारले भन्ने  गरेको सङ्क्रमित र ज्यान गुमाएकाको सङ्ख्या केही बढी छन्  भनेर अनुमान लगाउन सकिन्छ ।  

एक दिनमा ५० हजार जनाको एन्टिजेन विधिबाट परीक्षण गर्ने  भनिए पनि अहिले दैनिक सरदरमा तीन हजार जनाको मात्रै एन्टिजेन विधिमार्फत् परीक्षण भइरहेको छ । परीक्षण किटको अभावका कारण थोरैको सङ्ख्यामा परीक्षण भएको हुन सक्छ । केही हप्ता अगाडिसम्म किटको  अभाव छ भन्ने कुराहरु आएका थिए । तर अहिले भने केही मात्रामा विदेशबाट किट आएको छ । 

यस्तै समन्वयको अभावले पनि  कम परीक्षण  भएको हुन सक्छ । केन्द्र, प्रदेश, जिल्ला हुँदै पालिकासम्म समन्वय प्रभावकारी  नहुँदा  परीक्षणको दायरा बढाउन नसकिएको हुन सक्छ ।  पालिकास्तरमा परीक्षणको दायरा बढाउन अति नै आवश्यक छ । 

कतिपय हिमाली र पहाडी जिल्लाहरुमा पीसीआर परीक्षण गरेको रिपोर्ट आउन नै पाँचदेखि सात दिनसम्म लाग्ने गरेको भन्ने गुनासो धेरै ठाउँबाट आएका छन् । ढिलो गरी रिपोर्ट आउँदा नराम्रो असर पर्छ ।  पीसीआर रिपोर्ट ढिला आउँदा  सङ्क्रमित आइसोलेशनमा बस्न र गाह्रो भएमा अस्पताल जानुपर्ने अवस्थामा ढिलाइ हुन सक्छ । यस्तै सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई पाँचदेखि सात दिनसम्म छुट्टै बस्न लगाउने र त्यसपछि परीक्षण गर्न पनि ढिला भइसक्छ । 

स्वाब सङ्कलन गरेर ल्याबमा पठाउने र परीक्षणका लागि समन्वय गर्न सके चाँडो परीक्षण गर्न सकिन्छ । गएका हप्ताहरुमा भन्दा पछिल्लो समय सङ्क्रमणदर केही मात्रामा कम भएकै हो । परीक्षण गरेकामध्ये  पोजेटिभ आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ ।  निषेधाज्ञा भइराखेको अवस्थामा उच्च बिन्दुमा पुगेर सङ्क्रमण  बिस्तारै घट्दै गएको हो । तर  सङ्ख्यामा भनिएजस्तै ह्वात्तै घटेको छैन । कतिपय ठाउँमा परीक्षण नै नभएकाले सङ्क्रमित ह्वात्तै घटे भन्न सकिँदैन । 

अहिले अलि कम  भए पनि  निषेधाज्ञा खुलेपछि फेरि अर्को लहर आउने सम्भावना छ । सङ्क्रमण कम हुन थाल्यो  भनेर ढुक्क भएर बस्ने अवस्था छैन । कोरोना नियन्त्रणका लागि गरीने हाम्रो तयारीलाई अझै निरन्तरता दिनुपर्छ ।कोरोना हुँदैमा ठूलाठूला अस्पतालमा जानुपर्छ भन्ने सोचाइ गलत हो ।  सङ्क्रमित भएपछि  दिनहुँ अक्सिजनको मात्रा र स्वास्थ्यको जानकारी राख्नुपर्छ । र स्वास्थ्य अवस्था खस्कन थालेको अवस्थामा  सामान्य अस्पतालमा गएर पनि उपचार गर्न सकिन्छ ।  पालिका तहमा रहेका स्वास्थ्य केन्द्ररुले पनि कोरोनाका बिरामीको उपचारका लागि आधारभूत तयारी गर्न सक्छन् । त्यो तयारी अहिलेदेखि नै  गर्नुपर्छ ।   

(सङ्क्रामक रोग विशेषज्ञ डाक्टर  विराज कर्माचार्यसँगको कुराकानीमा आधारित )

आजकाे काेराेना क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहोस्।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विराजमान कर्माचार्य

कर्माचार्य धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया