पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बल्लतल्ल कोरोना भाइरसलाई छलेर आयु लम्बियो भनेर फुरफुर भैरहेको बेला फेरि मुटु नै थुरथुर हुने गरी मान्छेहरुले कोरोनाको नयाँ रुप देखियो भनेर तर्साइदिए । रोगको डर हटेर भोकको भरमा जिन्दगीले लय समाउँदै गर्दा पुरानै भयले मनमा ढ्याङ्ग्रो ठोक्यो । कोरोनालाई झेल्न र छल्न बाँकी नै रहेछ भन्ने थाहा भएपछि उसैगरी थर्कमान नभइ सुखै पाइएन ।
मुखमा मास्क त छुटेको छैन, तर दुई मिटरको भौतिक दूरी नाप्न बिर्सिसक्यो । दूरी नाप्न मिल्ने ठाउँ पाए पो नाप्नु । तरकारी बजारमा पनि उस्तै भीड, सरकारी अड्डामा पनि उस्तै भीड । न गाडीमा खुट्टा राख्ने ठाउँ, न दलहरुका जुलुसले भाग्न मिल्ने ठाउँ । जता हेर्यो उतै भीड, भीडबाट बच्नै गाह्रो । भीडबाट बच्न नसकेपछि कोरोनाको अर्को रुपबाट कसरी बच्ने ?
घरभित्र बस्दाबस्दा वाक्क भएर बल्लतल्ल फुक्काफाल भएर घरबाहिर निस्कन पाएको । बाहिर निस्कन नपाएर गुम्नै लागेको काम र मामको बाटो बल्लतल्ल मिल्न थालेको । यही बेला फेरि एकथरी मान्छेहरु अर्ति दिन्छन् : अब फेरि पनि घरबाहिर ननिस्केकै राम्रो । अर्काथरीले विज्ञता छाँट्छन् : कोरोना मात्र होइन, यतिबेला प्रदूषणको पनि डर छ, त्यसैले सकेसम्म घरभित्रै बसेको राम्रो ।
बाहिर निस्केपछि एकथरीले कोरोनाको डर देखाए, अर्काथरीले प्रदूषण देखाएर तर्साए । आँखाले नदेखे पनि देखाउनेले डर देखाएपछि डराउनै पर्यो । डर लागेपछि मन काम्यो । कामेको मनले कोरोना सम्झियो । कोरोना सम्झिएपछि ज्यानभरी काँडैकाँडा भएको, देख्दै डरलाग्दो कोरोनाको आकृति आइलाग्यो । मास्क, खोप र स्यानिटाइजरसँग पनि नतर्सने ज्याद्रो, अटेरी । देख्नेबित्तिकै सातो गयो । कता जाउँ, के गरौँ, कसो गरौँ भनेर यताउता दौडिँदै, छेलिँदै बल्लतल्ल मुस्किलले डरलाग्दो कोरोनाबाट एकैछिनलाई छुटकारा मिल्यो ।
कोरोना छलेर अघि बढेको त फेरि सडकमा धुलो र धुवाँको प्रदूषण छ । डाक्टरहरुले प्रदूषणबाट पनि जोगिनु भन्छन् । यतै धुलो, उतै धुवाँ । धुवाँ र धुलोको मुस्लोबाट कसरी फुत्कने ? मुखमा मास्क टम्म कसेर, आँखा चिम्लेर फाल हानेर दौडिएपछि बल्लतल्ल त्यो प्रदूषण पनि कटियो ।
प्रदूषण कटेर अघि बढ्दै जाँदा ठूलो र फराकिलो सडक काट्नुपर्ने भयो । तरकारी भए चुलेसीले काट्न हुन्थ्यो, बाँस भए खुकुरीले काट्न हुन्थ्यो । सडक त खुट्टैले काट्न पर्यो । खुट्टा सडकमा राखौँ यता र उताबाट गाडीको ताँती छुटेको छ । फुटपाथमै उभिँदा पनि गाडीले छोला भन्ने डर छ । यस्तो ठाउँबाट कसरी बाटो काट्ने ? कोरोना र प्रदूषणबाट बल्लबल्ल जोगिएर मात्र के गर्नु, गाडीबाट जोगिन सकेन भने त ठाउँको ठाउँ ठहरै भइन्छ !
निकै पर जेब्राक्रस भेटेपछि खुट्टा कँपाई कँपाई बल्लतल्ल सडक पार गरियो । गाडीले पनि छुन सकेन भनेर मन त्यसैत्यसै मख्ख पर्यो । यहाँ पनि काल काटियो, ज्यान बच्यो । पाइन्टको धुलो टक्टकाउँदै, कमिजको कल्लर मिलाउँदै हिँडिरहँदा सडकको पल्लो छेउमा एकजना साथी भेटिए ।
देख्नेबित्तिकै सोधे : यस्तो चिसोमा लुगलुग काँप्दै कता हिँडेको ?
कता हिँड्नु घरबाहिर हिँड्नै डराइ मर्नु भयो । कोरोनाको अर्को रुप देखियो रे, खोपले पनि नतर्सने खालको । उ नतर्सेपछि आफू तर्सनु परिगो । त्यसैले भागेको ।
भागेर कहाँ जाने ?
घरमा गएर बस्ने नि ।
अनि कति दिन बस्ने ?
हेरौँ यो डरलाग्दो कोरोनाले कहिलेसम्म जिस्काउँछ ?
कोरोनाले त जिस्काउन छोड्दैन भाइ, कति दिन घरभित्रै बसेर साध्ये लाग्छ ? अस्ति नै बस्दैमा अत्यास लागेको हैन र ? सधैँ घरमा बसेर के खाने ? कसरी गुजारा चलाउने ?
साथीले फेरि भोकको डर देखाए । भोकबाट पनि जोगिनुपर्छ, त्योभन्दा पहिले रोगबाट बचौँ भन्दै साथीसँग बिदा मागेर अलि पर पुगेको रेडियोमा समाचार बज्दै रहेछ । समाचार भन्नेले चिसो नामको अर्को डर थपिदिए । खबरमा उनी भन्दै थिए : चिसोको योबेला निमोनियाको जोखिम हुने भएकाले आफ्नो ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् ।
भनेपछि कोरोनाबाट मात्र बचेर सुख रहेनछ । निमोनियाबाट पनि बच्नुपर्ने रहेछ । वरपर निमोनिया लाग्ने भाइरसले देख्ला कि भनेर डराइडराइ घरभित्र पसियो । दुई/चार दिन भोक खप्ने, बरु बाहिर ननिस्कने गरी आफ्नै मनले सर्वसम्मत निर्णय गरियो ।
कोरोना, प्रदूषण, निमोनिया, दुर्घटनाबाट जसोतसो आजका लागि त बचियो । आज केहीले छुन त के, देख्न पनि सकेनन् । अर्को काल नदेखिँदासम्म अहिलेलाई काल टर्यो । काललाई छकाउने आफ्नो कला सम्झेर आफैँ मख्ख पर्दै पुराना पत्रिका पल्टाउन थालेँ।
पत्रिकामा जुन पाना पल्टायो, त्यतै अर्काथरी डर । डर पनि रोगकै । एउटा पन्नामा लेखिएको रहेछ : धेरै भोको बस्न हुँदैन, ग्यास्टिक हुन्छ । अर्को पन्नामा छापिएको रहेछ : हप्तामा एक दिन भोको बस्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । अर्को पत्रिकामा डाक्टरको कुराकानी रहेछ : स्वस्थ र फुर्तिलो बन्न साँझ बिहान हिँड्नुपर्छ । बिहान बेलुकाको हिँडाइ, बिना पैसाको दबाइ !
भनेपछि घरभित्र बसेर मात्रै नहुने रैछ, नहिँडे त अर्काथरी रोग पो लाग्ने रहेछ, हैन एकछिन त हिँड्नु पर्यो ।
सोच्दै थिएँ, अर्को पत्रिकामा अर्का डाक्टरले सल्लाह दिएका रहेछन् : यस्तो प्रदूषणको बेलामा हिँड्न हुँदैन, फोक्सोमा असर गर्छ ।
एउटा भन्छ हिँड्नु, अर्को भन्छ नहिँड्नु ।
एउटा भन्छ : अलि टन्न खानुपर्छ, नत्र ख्याउटे र कुपोषण हुन्छ । अर्को भन्छ : धेरै खान हुँदैन, मोटाइन्छ । मोटाएपछि सुगर, प्रेसरको रोगी भइन्छ ।
एकथरीको सल्लाह छ : कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ । अर्कोतिर हल्ला छ : सधैँभरी मास्क लगायो भने त केटीको पनि जुँगा आउँछ, केटाको त झन् के होला !
एउटाले कोरोनाको डर देखाउँछ, अर्कोले प्रदूषणको । कसैले निमोनियाको त्रास देखाउँछन्, कसैले गोलागानू र ग्यास्टिकको । घरबाहिर निस्के पनि सुख छैन, भित्रै बसिरहे पनि सुख छैन । खाए पनि सुख छैन, नखाए पनि सुख छैन । श्वासबाट लाग्ने रोगबाट बचे मिर्गौला बिगार्ने रोगबाट बच्न मुस्किल । मिर्गौला जोगाए मुटु बचाउन मुस्किल । मुटु र मिर्गौला मात्र बचाएर पनि नहुने आँखा, कान, दाँत, छाला, हड्डी, रगत सबैको ख्याल गर्नुपर्ने ।
हैन आफ्नो कामको ध्यान दिनु कि शरीरका भएभरका अङ्गलाई जोगाएर हिँड्नु । एउटा दिमागले कति मात्र चिन्ता लिनु । यतै डर, उतै डर । कतै डरलाग्दा भाइरस, कतै अत्यासलाग्दा दुर्घटनाका जोखिम । डराउँदा डराउँदै वरपर तोरीको फूल देख्ने गरी ड्याम्म भयो । बिउँझँदा त खाटबाट लडेर आफैँ पो दुई बल्ड्याङ खाइ भुईँमा बजारिएको !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।