प्रदेश सभा २ बैठक : दुई वटा अध्यादेश पेस, मुख्यमन्त्रीकाे राजीनामा माग

 मंसिर २९, २०७८ बुधबार १७:२९:११ | रासस
unn.prixa.net

धनुषा – प्रदेश नं २ को प्रदेश सभा बैठकमा दुई वटा अध्यादेश पेस गरिएकाे छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेश सभामा पेस गर्नुभएको छ ।

अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आउँदाे पुस ८ गते बिहीवार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेश सभामा पेस गर्नुभएको हो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यादेश पेस गर्न नदिने भन्दै बैठकमा अवराेध गरेकाे थियाे । पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश सभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठकमा अवराेध गरिएकाे जानकारी दिनुभयो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताउनुभएको थियो ।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गर्नुभएको थियो । लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेश सभा १५ मिनेटका लागि स्थगित गरी फेरि सुरु भएको बैठकमा अध्यादेश पेस भएको हो । 

मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश नं २ को प्रदेश सभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गर्नुभयो । 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेश सभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’, सोनलले प्रश्न गर्नुभयो, ‘अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

अध्यादेशको पनि विरोध सोनलले प्रदेश सरकारले कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, ‘न त कुनै इमर्जेन्सीकाे अवस्था छ, न त कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।’ 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया