सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
लमजुङ–पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।
विगतमा विशेषगरी : पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको लमजुङ सुन्दरबजार नगरपालिका-६ की सन्तुमाया बुढाप्रिथीले बताउनुभयो ।
‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हराउँदै गएको छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
चोखो निधोमा परालको गुन्द्री
उहाँका अनुसार हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ ।
‘चोखो निधोमा परालको गुन्द्री नभइ हुँदैन,’ उहाँले भन्नुभयो, ‘साथमा पैसा भए अहिले बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइन्छ । त्यही किन्छन्। प्रयोग गर्छन् । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन त हराउँदै गएको छ ।’
उहाँका अनुसार तुलनात्मक रुपमा प्लास्टिकको गुन्द्री चिसो हुन्छ । विगतमा त झनै गाउँघरमा पाइने बाबियोको डोरीको तान लगाएर गुन्द्री बुन्ने चलन रहेको स्मरण गर्नुहुन्छ, लमजुङकी पूर्णीमाया परियार ।
उहाँका अनुसार अहिले कहीँकतै गुन्द्री बुन्दा सुतारीको डोरी प्रयोग गरिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री धेरै राम्रो र टिकाउ हुने उहाँ बताउनुहुन्छ ।
‘हाम्रो पालामा त बाबियो काटेर । बाबियो बाटेर तान लगाइ गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै छ । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ उहाँले भन्नुभयो ।
यसरी बुनिन्छ, गुन्द्री
सन्तुमायाका अनुसार घर नजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ ।
सर्लक्क परेका लामो परालको घान हाली दायाँबायाँ हातैले बिट मारिन्छ । अनि हतासोले ठोकिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने उहाँले बताउनुभयो ।
निरन्तर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने लमजुङ पैह्रेकी चिजा परियारले बताउनुभयो । तर गुन्द्री बुन्न दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने उहाँले बताउनुभयो ।
नयाँ गुन्द्री बिछ्याउँदा इज्जत
पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो।
तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ ।
गुन्द्री बुन्न जान्नेको सङ्ख्यामा कमी
गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूरा गर्नुमात्र नभइ आत्मनिर्भर पनि बन्नु हो ।
गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको छ ।
नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या निकै कम छ ।
नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा रहिआएको छ ।
मौलिक परम्परा, संस्कृति संरक्षण गर्नु जरुरी
आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख लाग्छ । यसको संरक्षण गर्नु जरुरी छ ।
नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सिप हस्तान्तरण गर्न जागरुक भएमा हराउँदै गएका यस्ता हाम्रा मौलिक परम्परा, संस्कृति संरक्षण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।