सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
‘हुर्रे.....फेरि स्कुल बन्द भयो’ ढोकाबाट छिर्नेेबित्तिकै खाटको कुनातिर झोला मिल्काएर छोरो छमछमी नाच्न थाल्यो ।
‘आहा ! क्या मज्जा यसपालि पनि पढ्दै नपढी पास हुन पाइने भयो’ छोरी मोबाइलमा साथीहरुसँग गफिन थालिन् ।
‘हैन यी केटाकेटीलाई के भयो हँ ? घर फर्कन भ्याएको छैन नाच्न र टिकटक बनाउन थाले । आज फेरि के को खुशियाली हो तिमीहरुको ?’ आमा छक्क परिन् ।
‘के हुनु नि, केटाकेटीलाई हुनुसम्म भयो, फेरि स्कुल बन्द भयो । आफ्नो अफिस पनि बन्द भैदिए त हुन्थ्यो नि । पहिलेजस्तै लकडाउन भए त क्या गज्जब हुन्थ्यो’ अफिसबाट फर्कँदै गरेका बाउले हाई काढे । त्यसपछि परिवारभित्र सुरु भयो बन्दको बहस ।
स्कुल बन्द भयो क्या ममी । अब फेरि अनलाइनमै पढ्नुपर्ने जस्तो छ । मज्जा हुने भयो ।
खुब पढ्छौ नि अनलाइनमा । पढाएजस्तो गरेर पैसा लिने स्कुल, पढेजस्तो गरेर मोबाइलमा टिकटक बनाउने तिमीहरुको पारा क्या मिलेको छ है ?
कहाँ टिकटक मात्रै बनाउँछौँ र पढ्छौँ पनि । पहिले पनि पढेको होइन र ? पास पनि भएको हो नि ।
देखियो पढेको र पास भएको पनि । कापीमा नम्बर मात्रै आएर हुन्छ ? जान्नु पर्दैन ? पास नगरिदिए फेरि अभिभावकले पैसा दिँदैनन् भनेर नम्बर दिएका हुन् मास्टरले । स्कुलले जाँच नै नलिइ नम्बर दिने, हामी चाहिँ स्कुलले पढाउँदै नपढाइ पैसा दिने ।
पढेका छौँ क्या ममी, ल्याङल्याङ नगर्नुस् न । अनलाइनबाट पनि पढेका हाैँ, स्कुल गएर पनि पढेकै हाैँ।
आहा ! माघ १५ पछि पनि बिदा भैदिए हुन्थ्यो ।
हैन हैन धेरैदिन घर बस्दा पनि बोर हुन्छ, माघ १५ पछि चाहिँ खुलोस् है ।
हैन यो सरकारलाई पनि के भएको हो कुन्नि । जहिले पनि स्कुल मात्रै बन्द गर्न जानेको छ । उनीहरुको सभा, सम्मेलन र भाषण चाहिँ बन्द नहुने । केही हुनेबित्तिकै स्कुल चाहिँ बन्दै गर्दिने, कति सजिलो मानेका !
अब सबै पार्टीका महाधिवेशन सकिहाले । अलिअलि जिल्ला र प्रदेशका सभा भैरहेकै छन् । स्कुल बन्द त गर्ने नै भए नि ।
धेरैले खोप लगाए, खोप पनि प्रशस्त छ भन्छन् । अनि बन्द चाहिँ किन गर्नुपरेको होला ?
उनीहरुले बन्द मात्रै गर्न जानेका छन् क्या । अहिलेका टाउके भनौदा नेताहरु पहिले सबै मास्टरी गर्थे । त्योबेला पनि स्कुल नै बन्द गरेर आन्दोलन गरे । जेलनेल भोगे र नेता भए । स्कुल बन्द गरेर आन्दोलन गर्दै जेलनेल भोगेकै कारण यहाँसम्म आइपुगे । त्यसैले उनीहरुलाई स्कुल बन्द गर्ने बानी परिसक्यो ।
अनि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पनि बन्द र आमहडताल गरेरै आएको हो क्यारे । २०४६ सालमा बहुदल आउँदा पनि देशभर स्कुल, कलेज, कलकारखाना, सडक, बजार सबै बन्द भए । २०६२/०६३ को आन्दोलनमा पनि यसैगरी बन्द भयो । बन्द र हडताल नगरि उपलब्धि हात परेको छैन नि । त्यसैले कोरोनाविरुद्धको उपलब्धि हासिल गर्न पनि बन्द गर्नुपरेको होला ।
अर्को कुरा बन्द भनेको विरोध हो । पहिले राजतन्त्रलाई तह लगाउन बन्द, अहिले कोरोनालाई तह लगाउन बन्द ।
त्यो त बुझियो । तर खोप आइसकेपछि त कोरोनालाई खोपले नै तह लगाउन सकिन्छ हैन र । किन गर्नुपर्यो बन्द ?
त्यसो त लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि त बेलाबेला बन्द हुन्छ नि । लोकतन्त्र र गणतन्त्र आइसक्दा चाहिँ बन्द भैरहनुपर्ने, अनि खोप आयो भन्दैमा बन्द नहुनुपर्ने भनेर कहाँ लेखिएको छ ? त्यसैले खोप आउँदा र लगाउँदा पनि बन्द गरिरहनुपर्छ ।
अनि दलहरुका सभा सम्मेलन र भाषण नि ?
हरे उबेला आन्दोलनको समयमा पनि स्कुल, कलेज, सडक, बजार बन्द हुँदा दलहरुका सभा त हुन्थे नि । त्यस्तै हो । अरुथोक बन्द भए पनि दलहरुका सभासम्मेलन र नेताहरुको भाषण बन्द हुँदैन । गर्न मिल्दैन ।
बल्ल बाबा ममीले कुरो बुझ्नु भो । बन्द भनेको विरोध । अहिले कोरोनालाई विरोध गर्ने बेला । खुला गरेर विरोध हुँदैन । खुला मुखलाई मास्कले छोपेर कोरोनाको विरोध । खुला स्कुलमा ताला लगाएर कोरोनाको विरोध । त्यसपछि बजार पसल, कार्यालय, कलकारखाना गाडी सबै बन्द गरेर कोरोनाको विरोध ।
त्यसैले विरोधको यो परम्परालाई जोगाइराख्न सकियो भने मात्र हाम्रो संस्कृतिको संरक्षण हुन्छ । सरकारले अरुथोक होइन, बन्द नै गरेको जाति ।
बन्द गर्नुजत्तिको सजिलो काम अरु हुँदैन पनि ।
हो हो....अब बन्दको विरोध होइन, समर्थन गरौँ। कोरोना तर्साउन खोप र अरु सजगता होइन, लकडाउनकै माग गरौँ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।