पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेका ४० हजारभन्दा धेरै जना सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु भएको २० दिनमा ४० हजार ६ सय ८८ जनाले सामाजिक सुरक्षा नम्बर लिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।
उनीहरूले पाँच करोडभन्दा बढी योगदान रकम कोषमा जम्मा गरिसकेका छन् । अहिले कोषमा आबद्ध हुनेमा धेरैजसो वैदेशिक रोजगारीमा नयाँ जाने रहेको र थोरै सङ्ख्यामा विदेशमा काम गरिरहेका नेपालीहरू पनि आबद्ध भएको सह प्रवक्ता रेग्मीले बताउनुभयो ।
सामाजिक सुरक्षा नम्बर लिएका कतिपयले भने कोषमा योगदान रकम जम्मा गर्न बाँकी छ ।
‘अहिले विदेशका सबै देशबाट अनलाइनमार्फत आबद्ध हुने पहुँच खुला भइसकेको छैन, कोषले क्रमबद्ध रूपमा पहुँच दिइरहेको छ’ सह प्रवक्ता रेग्मी भन्नुहुन्छ ‘सुरुवाती चरण भएकाले कोषले परीक्षण गर्दै क्रमबद्ध रूपमा आबद्ध गर्दै लगिरहेको छ, छिट्टै सबै देशबाट कोषको अनलाइन सिस्टमको एक्सस हुनेछ ।’
अहिलेसम्म कोषले सात वटा देशमा रहेका नेपालीहरूले अनलाइन सिस्टमबाट आबद्ध हुन सक्ने गरी अनलाइन सिस्टमको पहुँच दिएको छ ।
सह प्रवक्ता रेग्मीका अनुसार यूएई, कतार, कुवेत, साउदी, मलेसिया, जापान र दक्षिण कोरियामा कार्यरत नेपालीहरूले अहिले कोषको अनलाइन सिस्टमबाट आबद्ध हुनका लागि आवेदन दिन सक्छन् ।
यी बाहेक अन्य देशबाट तत्काललाई अनलाइन सिस्टमको पहुँच दिइएको छैन । क्रमबद्ध रूपमा अन्य देशमा रहेका नेपालीलाई पनि कोषमा आबद्ध हुने अनलाइन सिस्टमको पहुँच खुला गर्ने कोषले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ८ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको औपचारिक सुरुवात गर्नुभएको हो ।
त्यसै दिनदेखि वैदेशिक रोजगारीमा रहेका, विदेशमा स्वरोजगार रहेका र वैदेशिक रोजगारीमा जाने नेपालीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन् ।
वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका व्यक्तिहरूका लागि कोषले तीन किसिमका योजनाहरू ल्याएको छ । दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत कोषमा आबद्ध भएका श्रमिकले सुविधाहरू पाउनेछन् ।
कोषमा आबद्ध भइसकेपछि कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत र बढीमा यसको तीन गुणासम्म रकम कोषमा जम्मा गर्न सकिन्छ । अर्थात् सामान्यतया महिनाको २ हजार २ रुपैयाँ कोषमा रकम जम्मा गर्दा हुन्छ ।
यस्तो रकम अग्रिम रूपमा पनि जम्मा गर्न सकिन्छ भने न्यूनतम बाहेक अतिरिक्त पैसा जम्मा गरिएको रकम अवकाश बचत योजनामा जम्मा हुने कोषले जनाएको छ । कोषमा जम्मा गरेको रकम विभिन्न योजनामा बाँडफाँड हुन्छ । जम्मा गरेको रकमको ७.४८ प्रतिशत दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुविधा योजनामा जान्छ भने वृद्ध अवस्था सुविधा योजनामा पेन्सन सुविधाका लागि १३. ८५ प्रतिशत रकम जम्मा हुन्छ ।
पहिलो योजना अर्थात् दुर्घटना तथा अशक्तता सुरक्षा योजना सुविधा पाउनका लागि पछिल्लो १२ महिनामा कम्तीमा ९ महिना कोषमा पैसा जम्मा गरेको हुनुपर्छ । एक वर्षको अवधिमा ९ महिनासम्म कोषमा योगदान रकम जम्मा गरेकाहरूले अस्पताल गर्न भएर औषधी उपचार गर्नका लागि वार्षिक एक लाख रुपैयाँसम्म शोधभर्ना पाउँछन् ।
दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षम भएमा काममा नर्फकदासम्म सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पाइन्छ भने दुर्घटनाको कारण स्थायी रूपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा सरकारले तोकेको न्यूनतम पारिश्रमिकको ६० प्रतिशतसम्म रकम बाँचुन्जेल पेन्सनका रूपमा पाइन्छ ।
दोस्रो अर्थात् आश्रित परिवार सुरक्षा योजना अन्तर्गत कोषमा रकम योगदान गर्ने व्यक्तिको जुनसुकै कारणले ज्यान गएमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित कोषले फिर्ता गर्ने छ भने आश्रित परिवारलाई सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पेन्सन दिन्छ ।
२१ वर्ष ननाघेका बालबच्चालाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतसम्म पढाई खर्च र २५ हजार अन्तिम संस्कार खर्च कोषले उपलब्ध गराउँछ । तर यो सुविधा प्राप्त गर्नका लागि एक वर्षमा ९ महिना कम्तीमा कोषमा रकम योगदान गरेको हुनुपर्छ भने आश्रित परिवारले पेन्सन पाउनका लागि उसको रोजगारी नभएको वा दोस्रो विवाह नगरेको हुनुपर्छ ।
तेस्रो योजना अन्तर्गत कोषले वृद्धावस्था सुरक्षा योजना ल्याएको छ । यसमा पनि अवकाश सुविधा योजना र निवृतभरण सुविधा योजना गरी दुई योजना रहेका छन् ।
जसमा अवकाश योजना अन्तर्गत आफूले जम्मा गरेको रकम रोजगारीको अन्त्य हुने बित्तिकै निकाल्न सकिने, तोकिएको ब्याज र लगानीबाट प्राप्त हुने थप प्रतिफलसमेत पाइने छ भने ३६ महिना योगदान पुगेपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटीको रूपमा निकाल्न पाइन्छ ।
निवृत्तभरण योजना अन्तर्गत भने ६० वर्ष उमेर पुगेपछि आफ्नो योगदानका आधारमा आजीवन निवृत्तभरण पाउने व्यवस्था छ । निवृत्तभरणमा जम्मा भएको रकममा प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी महिनै पिच्छे निवृत्तभरणको रूपमा पाइन्छ । मुद्रास्फीति समायोजन हुँदा पेन्सन रकम बढ्दै जाने कोषले जनाएको छ ।
तर ६० वर्ष उमेर पुग्दै गर्दा १८० महिनाभन्दा कमको योगदान भएमा पैसा एकमुष्ट निकाल्न पनि पाइने छ ।
कोषबाट निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा उसको पति वा पत्नीलाई निवृत्तभरणको ५० प्रतिशत आजीवन मासिक रूपमा कोषले उपलब्ध गराउने छ ।
कोषमा योगदान गर्नु पर्ने रकम ६ महिनाभन्दा बढी अवधिको अग्रिम रूपमा कोषमा जम्मा गरेमा कोषमा जम्मा गर्नु पर्ने रकममा १० प्रतिशतसम्म छुट पाइन्छ भने कोषमा नियमित योगदान गरेकाहरूले तीन वर्षसम्म पनि कुनै सुविधाहरू उपयोग नगर्ने योगदानकर्ताले निवृत्तभरण योजनामा सहभागी हुने गरी निवेदन दिएमा त्यो योजनामा जम्मा भएको रकमको २० प्रतिशतसम्म वृद्धावस्था सुरक्षा योजनामा कोषले जम्मा गरिदिने छ ।
आफूले विदेशमा कमाएको रकमबाट व्यक्तिगत खर्च कटाएर ७० प्रतिशतसम्म रकम बैङ्किङ माध्यममार्फत नेपाल पठाएको प्रमाण पेस गरेमा वृद्ध अवस्था बाहेकका सुरक्षा योजनाहरूमा जम्मा गर्नु पर्ने रकममा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था पनि गरिएको छ ।
विस्तृत जानकारीका लागि www.ssf.gov.npवा सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको कल सेन्टरमा १११६ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।