सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
सोलुखुम्बु - सोलुखुम्बुबाट चिराइतो निकासी ६० प्रतिशतले बढेकाे छ । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गएकाे आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी वृद्धि भएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराइतो निकासी भएको थियो भने गएकाे आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराइतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र सङ्ख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो ।
जिल्लामा चिराइतो उत्पादन बढेसँगै निकासी पनि बढेको कार्यालयका सूचना अधिकारी मनराज राईले बताउनुभयो । चिराइतो खेती विशेषगरी जिल्लाका टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङ्ला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङ लगायतका क्षेत्रमा हुने गरेको छ ।
जिल्लामा उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा विराटनगर, काठमाण्डौ लगायतका जिल्लामा खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट राम्रै आम्दानी हुने भए पछि पछिल्लो समय यसतर्फ किसानहरु आकर्षित भएका छन् ।
जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । एक समय अलैँचीमा मात्रै बढी केन्द्रित भएका यहाँका किसानहरु अहिले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेका छन् ।
अलैँचीको भाउ केही वर्षयता निरन्तर ओरालो लाग्नु र बिरुवामा समेत रोगकिराले सताउँदा उनीहरु अलैँची खेतीबाट पलायन हुने क्रम बढेको हाे । जिल्लामा अलैँचीको उद्गम थलोको रुपमा परिचित लिखुपिके गाउँपालिका क्षेत्रका धेरै किसानहरुले अहिले चिराइतो लगाउन थालेका छन् ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा चिराइतो खेती गरिँदै आएको छ । वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आकर्षित भएका बताइएको छ । मकैबालीमा भालु, बाँदरको आतङ्क हुने गरेका कारण हैरान भएका किसानहरुलाई चिराइतो खेतीले धेरै राहत प्रदान गरेको सल्लेरीका धन बहादुर तामाङले बताउनु भयाे।
औषधीय गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरुमध्ये महत्त्वपूर्ण मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसकाे प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।